17 Jan, 2024

क्रेडिट कार्ड कस्तो अवस्थाहरूमा प्रयोग गर्न सकिन्छ?

साथीभाइसँग पैसा माग्नु सामान्य हो तर सधैँ साथीभाइसँग पैसा नहुन पनि सक्छ। त्यसैले आफूलाई भविष्यमा आउने समस्याहरूको लागि तयार हुनु नै बुद्धिमानी हुन्छ। ठूलाठूला योजनाहरू सिद्ध गर्न ठूलाठूला नै कर्जाहरु जस्तै घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा, व्यक्तिगत कर्जा आदि लिइरहेका हुन्छौं। तर स-साना समस्या वा कामहरूको लागि हामीलाई सानो सानो रकम पनि चाहिन्छ त्यस्तो अवस्थामा क्रेडिट कार्ड एउटा राम्रो विकल्प हुनसक्छ। 

क्रेडिट शब्दसंग जोडिने अरुशब्द भनेको उधारो, ऋण हो। मानिसको जति नै सुविधासम्पन्न, धनि र विलासिताको जीवन भएपनि उसलाई कर्जा अर्थात् क्रेडिट नै चाहिन्न भन्न अलि गाह्रो नै होला। मानिसको झन् जति ठुलो कारोबार त्यतिनै क्रेडिट हुन्छ। क्रेडिट आफैंमा नराम्रो होईन। क्रेडिटलाई कसरी प्रयोग र यसको व्यवस्थापन गर्छौं भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। क्रेडिट कार्ड पनि एक किसिमको कर्जा अर्थात् क्रेडिट नै हो। नेपाल राष्ट्र बैंक अनुसार "क्रेडिट कार्ड भनेको ग्राहकको बैंक खातामा पैसा नभए तापनि कार्डबाट भुक्तानी गर्न सकिने सुविधासहितको कार्ड हो।यस्तो कार्डमा खर्च भएको रकम कार्डधारकले निश्चित समयपश्चात सम्बन्धित बैंक वा वित्तीय संस्थालाई तोकिएको शुल्कसहित बुझाउनुपर्दछ।" 

त्यसो त, क्रेडिट कार्डको सुरुवात पहिले देखि नै भएतापनि यसको प्रयोग धेरै ग्राहकहरुले गरेको पाइँदैन। यद्यपी, ग्राहकहरुमा वित्तीय ज्ञान बढ्दै जाँदा र वित्तीय अनुसासन पालना गरेको खण्डमा यो निकै उपयोगी हुन सक्छ भन्ने बुझेकाले सक्रिय क्रेडिट कार्ड ग्राहकहरु बढ्दो क्रममा छन्। नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन-२०२२ अनुसार नेपालमा सन् १९९० को प्रारम्भमा क्रेडिट कार्ड सेवा पहिलो पटक नबिल बैंक लिमिटेड (त्यसबेला नेपाल अरब बैंक लिमिटेड) द्वारा शुरू गरिएको थियो । २०२१ को मध्य जुलाईमा १९२,३७० क्रेडिट कार्ड ग्राहकहरू थिए भने  २०२२ को जुलाईको मध्यसम्ममा २३८,७९४ सक्रिय क्रेडिट कार्ड बैंकिङ ग्राहकहरु छन् ।

क्रेडिट कार्डको एक मात्र नभई अनेक फाइदाहरु छन्। साथै यसका बेफाइदाहरु पनि छन् यदि समयमा शुल्क नतिर्ने, कार्डबाट प्राप्त हुने कर्जालाई कर्जा नसम्झेर, नसोचेर चलाउने हो भने। सामान्य अर्थमा भन्नु पर्दा क्रेडिट कार्डले गर्ने सहयोग भनेको तरकारीको बोटलाई टेको दिएको जस्तै हो बोटलाई साथ सपोर्ट त दिन्छ तर फल फुल्ने फल्ने सबै बोटमै निर्भर हुन्छ । त्यसरी नै क्रेडिटले हामीलाई केहि सहयोग र आढस मात्र प्रदान गर्दछ। बाँकि त्यसलाई कसरी, कहाँ र केका लागि खर्च गर्ने अनि व्यवस्थापन गर्ने हामीहरुमा नै भर पर्छ। 

नेपालमा हामीहरुले क्रेडिट कार्ड वित्तीय व्यवस्थापन लगायत अन्य विभिन्न निम्न परिस्थितिमा प्रयोग गर्न सकिन्छ। 

१. आपतकालीन खर्चहरू वा नगद

डेबिट कार्डमा आफुले डेबिट गरेको रकम अर्थात् आफुसंग भएको रकम मात्र झिक्न मिल्ने हुँदा। रकम नहुँदा अति आवश्यक परेको अवस्था जस्तै दुर्घटना, बिरामी वा अनियोजित घटना, आदिको लागि क्रेडिट कार्ड मार्फत उपभोक्ताले ४५ दिनसम्मको सीमाभित्रको रकम बिना ब्याज प्रयोग गर्न ढुक्कले पाउँछन्। साथै क्रेडिट कार्डहरू स्वीकार गर्ने एटीएमहरूबाट बैंक तथा वित्तीय संस्थाले दिएको क्रेडिट सिमाको निश्चित प्रतिशत आपतकालीन नगद निकाल्न प्रयोग गर्न सकिन्छ।

२.मार्ट, शपिङ्ग सेन्टर लगायत किनमेलको लागि

आजभोलि एउटा एउटा पसलमा गएर खरिद गर्न समय हुँदैन। मार्ट, शपिङ्ग सेन्टर लगायत अन्य पसलहरूमा अनलाइन वा अफलाइन किनमेल गर्दा आफ्नो क्रेडिट सिमासम्मको किनमेल सजिलै भुक्तानी गर्न सक्छौं। सामानहरु किन्नको लागि ठ्याकै कति नगद बोक्ने भन्नेहरुको लागि त झनै सुविधाजनक र सुरक्षित हुन्छ।

३. रेस्टुरेन्टहरू तथा होटलहरुमा भुक्तानी

समयसमयमा घुम्न जाँदा, यात्रा गर्दा क्रेडिट कार्ड उपयोगी हुनसक्छ किनकि विभिन्न रेस्टुरेन्ट र होटलहरूमा व्यापक रूपमा यो स्वीकार गरिन्छ। साथै होटलहरू, वा अन्य यात्रा-सम्बन्धित बुक गर्दा विभिन्न लाभहरू जस्तै रिवार्ड, छुट वा क्यासब्याक प्राप्त गर्न सकिन्छ। 

४.अफर, छुटको तथा रिवार्डको लागि

 धेरै क्रेडिट कार्डहरूले विभिन्न अफर, छुटको तथा रिवार्डहरु प्रस्ताव गर्दछन् जहाँ तपाईंले आफ्नो खरिदहरूमा पोइन्ट, वा क्यासब्याक कमाउनुहुन्छ। साथै निश्चित समयको लागि बैंकहरुको अफर अनुसार ०% वा न्यून ब्याजदरमा EMI भुक्तानी गरेर सामान खरिद गर्न पनि क्रेडिट कार्डले मद्दत गर्दछ। 

५.सम्बन्ध बढाउँनको लागि

 समयमै भुक्तानी गरेर जिम्मेवारीपूर्वक क्रेडिट कार्ड प्रयोग गर्दा बैंकसंग सकारात्मक सम्बन्ध निर्माण गर्न मद्दत गर्दछ। भविष्यमा कर्जा वा अन्य क्रेडिट सेवाहरुको लागि आवेदन दिंदा यो महत्त्वपूर्ण हुन सक्छ।

आफ्नो खर्चको ट्र्याक राख्दै क्रेडिट कार्ड जिम्मेवारीपूर्वक प्रयोग गर्नपर्छ र अत्यधिक कर्जा लगायत, उच्च ब्याज शुल्कहरूबाट बच्नको लागि समयमै भुक्तानी गर्नुपर्छ। त्यस्तै गरी क्रेडिट कार्डसँग सम्बन्धित नियम र सर्तहरू, शुल्कहरू, र ब्याजदरहरू बारे सचेत हुन पनि जरुरी हुन्छ।

थप विभिन्न बैंकहरुले प्रदान गर्ने क्रेडिट कार्ड मध्य कुन राम्रो, क्रेडिट कार्ड हराएमा के गर्ने, ब्यालेन्स कसरी थाहा पाउने, आफ्नो जीवनशैली अनुसार सहि क्रेडिट कार्ड कसरी छनोट र तुलना गर्ने जस्ता अन्य विभिन्न आवश्यक जानकारीको लागि सरल बैंकिङ्ग सेवाको वेबसाईट https://saralbankingsewa.com/creditcard र WhatsApp/Viber: ९८५१३६११०७ वा टेलिफोन नं.: ०१-५२६९१०७ मा सम्पर्क गर्न सक्नुहुन्छ।