19 Mar, 2024

जानौं वैदेशिक रोजगारी र स्वरोजगारमा रहेका श्रमिकको लागि सामाजिक सुरक्षा कोष बारे

नेपाली नागरिकहरू लामो समयदेखि आफ्नो र आफ्नो परिवारको स्वदेशमा आर्थिक स्थायित्व, पालनपोषण, राम्रो भविष्य, उनीहरुको सपना, र रोजगारीका लागि राम्रो अवसरको खोजीमा आफ्नो घरदेखि टाढा विदेशहरूमा बसिरहेका छन्। यसरी देशमा विदेशिनेको संख्या ठुलो छ। वैदेशिक रोजगार विभागको विवरण अनुसार आ.व.२०७९/८० मा श्रम स्वीकृति लिनेको जम्मा संख्या ७,७१,३२७ रहेको थियो जसमा पुरुषको संख्या ६,९९,१९३ रहेको छ भने महिलाको संख्या ७२,१३४ रहेको छ।  

यद्यपि, यसरी बर्षौंदेखि ठुलो संख्यामा विदेशमा काम गरिरहेका नेपाली कामदारहरूले रेमिट्यान्स मार्फत देशको अर्थतन्त्रमा मात्र नभई विश्वव्यापी श्रमशक्तिमा समेत आफ्नो महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेका छन्। उनीहरु भने सामाजिक सुरक्षाका सुविधाबाट वञ्चित थिए।

यसै सन्दर्भमा आज हामी यस ब्लगमा, विदेशमा काम गर्ने नेपालीहरूलाई सामाजिक सुरक्षा कोष (SSF) मा सामेल हुन अनुमति दिने हालैको नीति नियम परिवर्तनले कोषको योजनामा कसले भाग लिन सक्छन्, कस्ता नीति नियमहरू /योग्यता पालना गर्नुपर्ने, र कोषमा कसरी सहभागी/योगदान गर्ने भनेर बुझ्ने छौं।

सामाजिक सुरक्षा कोष अनुसार कोषको लक्ष्य भेनेको वैदेशिक रोजगारी र स्वरोजगारमा रहेका श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरुको आर्थिक तथा सामाजिक जोखिम जस्तै दुर्घटना, अशक्तता, आश्रित परिवार र वृद्धावस्थालाई न्यूनीकरण गर्नु हो। यसै अन्तर्गत विदेशमा काम गर्ने सबै इच्छुक नेपाली नागरिकले कोषको सुविधा कोषमा न्यूनतम रकम जम्मा गरिरहँदा पनि उपलब्ध हुनेछ। जुन कोषको कायार्लय वा कोषले तोकेको निकाय, कायार्लय वा कोषको अनलाइन प्रणाली मार्फत योजनामा ​​भाग लिनका लागि आवेदन दिन सक्नेछन्।

सामाजिक सुरक्षा कोषको योजनामा कसले भाग लिन सक्छन् 

विदेशमा रहेका नेपाली कामदारहरूलाई SSF मा सहभागी हुन दिने हालैको नीति परिवर्तनले विश्वभरका विभिन्न पेशा र उद्योगहरूमा काम गर्ने विभिन्न दायराका व्यक्तिहरूको लागि ढोका खोलेको छ। नेपाली कामदारहरूलाई प्रतिनिधित्व गर्ने विभिन्न पेशा र उद्योगका निर्माण श्रमिकहरू, हस्पिटालिटी र पर्यटन क्षेत्रमा रोजगारी गर्नेहरु, हेल्थकेयर प्रोफेसनलहरू, सूचना प्रविधि (IT) र इन्जिनियरहरू, क्येर टेकर वा घरेलु कामदारहरू, आदि समावेश हुन सक्छन्।

समग्रमा, कोषले विदेशमा रहेका सबै नेपाली पृष्ठभूमि र पेशाका व्यक्तिहरूलाई सामाजिक सुरक्षा सुविधाहरूमा संलग्न हुन सक्ने वातावरण सुनिश्चित गर्दछ। 

सामाजिक सुरक्षा कोषमा सहभागी हुन पालना गर्नुपर्ने नीति नियमहरू /योग्यता: 

SSF मा सहभागी हुन, विदेशमा रहेका नेपाली कामदारहरूले निम्न नियम वा योग्यताहरू पूरा गर्नुपर्ने हुन्छ :

नेपाली नागरिक हुनु पर्ने: कोषका फाइदाहरू नेपाली नागरिकहरूलाई मात्र उपलब्ध हुने हुँदा SSF मा सहभागी हुनका लागि सहभागीहरूले नागरिकता वा राहदानी पेस गर्नुपर्ने हुन्छ। 

श्रम स्वीकृति / भिसा वा प्रवेश आज्ञा लिएको: व्यक्तिहरूले सम्बन्धित निकायबाट स्वीकृति लिएको हुनुपर्छ। यो दर्ता प्रक्रियाले कामदारहरू वा स्वरोजगारमा रहेकालाई कानुनी रूपमा रोजगारी र सरकारले मान्यता दिएको सुनिश्चित गर्न मद्दत गर्छ।

पेसा व्यवसाय /रोजगारीको अवस्था: कोषमा सहभागीहरू सक्रिय रूपमा विदेशमा रोजगारीमा संलग्न हुनुपर्छ। चाहे तपाईंहरू दक्ष पेशा, असक्षम कामदार, वा अन्य उद्योगहरूमा कार्यरत हुनहुन्छ, SSF को फlईदाहरूको लागि योग्य हुन आफ्नो पेसा व्यवसाय /रोजगारीको अवस्था, काम गर्ने स्थानको ठेगाना र सम्पर्क जस्ता विवरण आवश्यक पर्दछ।

नियमित आवश्यक योगदान जम्मा गर्ने: कामदारहरूले SSF द्वारा निर्धारित आवश्यक योगदान बुझाउनु पर्ने र नियमहरु पालना गर्नुपर्छ। यसमा तपाईंहरूले आम्दानी वा रोजगारीको स्थितिको आधारमा कोषमा नियमित योगदानहरू जम्मा गर्नुपर्ने हुन्छ।

कसरी सहभागी/योगदान गर्ने

हालै परिवर्तन भएको नीति नियमले विभिन्न कुरामा सहज गरेको छ, यदि तपाईं वैदेशिक रोजगारीका लागि जाने क्रममा हुनहुन्छ भने श्रम स्वीकृति लिने क्रममा, वैदेशिक रोजगारीमा विदेशमा पहिले देखि नै हुनहुन्छ भने श्रम स्वीकृति नवीकरण गर्ने क्रममा र श्रम स्वीकृति लिएर विदेशमा हुनहुन्छ भने सिधै सामाजिक सुरक्षा कोषको वेबसाइट मार्फत विवरण दर्ता गराएर सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सक्नुहुन्छ। 

त्यसकारण, सहजरुपमा बुझ्न पर्दा तपाईं(वैदेशिक रोजगारीमा रहेका नेपालीहरू) जुन अवस्थमा भएपनि सामाजिक सुरक्षा कोषमा जोडिन सक्नुहुन्छ किनकि तपाईंले इमेल मार्फत सामाजिक सुरक्षा कार्ड र नम्बर प्राप्त गर्न सक्नुहुन्छ  र त्यही नम्बरका आधारमा आफ्नो योगदान रेमिट्यान्स खाता वा अन्य रेमिटका मध्यमबाट सिधै कोषमा जम्मा गर्न सक्नुहुन्छ। 

अझै खासगरी वैदेशिक रोजगारीमा संलग्न व्यक्तिहरू र उनीहरूको परिवारका सदस्यहरूको लागि रेमिट्यान्स खाताले प्रमुख भूमिका खेल्छ किनकि यसले प्रत्यक्ष बैंकिङ्ग च्यानल मार्फत रेमिट्यान्स आउने सुनिश्चित गर्दछ। साथै वैदेशिक रोजगारीमा संलग्न व्यक्तिहरुलाई प्रोत्साहन गर्न अन्य बचत खातामा भन्दा १% बढी ब्याजदर दिनुको साथै सेवा सुविधा (जस्तै स्विफ्ट ट्रान्सफरमा छुट, लकरमा छुट, आदि) पनि बढी हुन्छ। रेमिट्यान्स खाता बारे विस्तृत रुपमा जानकारी लिन सरल बैंकिङ्ग सेवाको वेबसाइटमा क्लिक गर्नुहोस्।

अन्तमा SSF अन्य कोषभन्दा नयाँ छ कतिपय नीति नियममा बेलाबेला विभिन्न खालका बहस पनि हुने गर्दछन तर बुझ्ने हो भने लामो समयमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि यो उत्कृष्ट छ। यसमा आबद्ध हुन नेपाल सरकारले कामदारका लागि तोकेको न्यूनतम रु. १५,००० मध्य बेसिक सेलरी रु. ९,३८५ लाई आधार मानेर त्यसको २१.३३ % हुन आउने २,००२ रुपैयाँ जम्मा गरे पुग्छ। त्यसरीनै विदेशमा काम राम्रो छ र आफ्नो बचत राम्रो भैराखेको छ भने बेसिक सेलरी रु ९,३८५ को ३ गुणा सम्म पनि कोषमा जम्मा गर्न सक्नुहुनेछ। तर यी सबै बीमा लगायतका अन्य सुविधा प्राप्त गर्न कम्तीमा ९ महिनाको योगदान र कोषमा नियमित रकम जम्मा गरेको हुनुपर्छ।