के तपाईलाई थाहा छ? एक अन्तरास्ट्रिय अध्ययन अनुसार करिब १६% मानिसहरूले आफ्नो ATM PIN नम्बर बिर्सने गर्दछन्। त्यसैले, यदी तपाईले पनि आफ्नो डेबिट अर्थात् ATM कार्डको Personal Identification Number (PIN) बिर्सिनुभएको छ भने तपाई एक्लै हुनुहुन्न।
अहिले मोबाइल बैंकिङ, QR, र NFC (Contactless Transaction) भुक्तानीको प्रयोग तीव्र गतिमा बढिरहेको छ। अब धेरैजसो पसल, रेस्टुरेन्ट वा साना सेवा प्रदायकहरू पनि QR वा NFC (Contactless) बाटै पैसा लिन्छन्। जसको कारण डेबिट कार्डको PIN को प्रयोग कमै हुने हुदा PIN बिस्तारै बिर्सिने हुन्छ। तर चिन्ता नलिनुहोस् — PIN बिर्सिनु भयो भने पनि सहजै PIN रिसेट गर्न सकिन्छ!
डेबिट कार्डको PIN बिर्सिदा न त पैसा ATM बाट निकाल्न सकिन्छ नत त्यसबाट पैसा तिर्न सकिन्छ। अझ पिन बिर्सिएर एटीएममा तीन पटकसम्म गलत PIN राख्नुभयो भने, अधिकांश बैंकहरूले तपाईंको कार्ड ब्लक गरिदिन्छन्। ब्लक भएको कार्ड अनब्लक नभएसम्म तपाईंले त्यस कार्डमार्फत कुनै पनि कारोबार गर्न सक्नुहुन्न।
त्यसैले डेबिट कार्डको PIN बिर्सनु भएको छ भने, PIN पुनः सेट गर्न वा परिवर्तन गर्न तपाईंले तल दिइएका प्रक्रियाहरु अपनाउन सक्नुहुन्छ।
अहिले धेरैजसो बैंकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत डेबिट कार्ड ब्लक/अनब्लक (Block/Unblock), कारोबार विवरणहरू, सक्रिय/निस्क्रिय (Activate/Deactivate), PIN परिवर्तन जस्ता कार्ड सम्बन्धित सबै काम गर्न मिल्ने सुविधा दिएका छन्।
यदि तपाईंको मोबाइल बैंकिङ एपमा यो सुविधा उपलब्ध छ भने, तपाईंले कुनै बैंक शाखा नगई घरमै बसेर नयाँ PIN सेट गर्न सक्नुहुन्छ! त्यसैले, डेबिट कार्डको PIN बिर्सेको अवस्थामा आफ्नो मोबाइल बैंकिङ एप खोल्नुहोस्:
(क) Login गरिसकेपछि "Cards" वा "कार्डहरू" लेखिएको सेवामा क्लिक गर्नुहोस्।
(ख) बैंकले तपाईंको खातासँग जोडिएको सबै कार्डहरू यहाँ देखाउनेछ। तर, कुनै कारणवश यदि कुनै कार्ड देखिएको छैन भने "Add new card" मा क्लिक गर्नुहोस्।
(ग) आफ्नो डेबिट कार्डको कार्ड नम्बर र म्याद सकिने मिति (Expiry Date) राख्नुहोस्।
(घ) यदि कार्ड ब्लक भएको छ भने, unblock गरेर "Reset PIN” / “Change ATM PIN” मा क्लिक गर्नुहोस्।
(ङ) तपाईंको मोबाइलमा आएको OTP (One Time Password) हालेर प्रमाणिकरण गर्नुहोस्।
(च) नयाँ PIN हाल्नुहोस् र पुनः पुष्टि गर्नुहोस्।
(छ) “Save” वा “Confirm” गरेपछि तपाईंको नयाँ PIN सक्रिय हुन्छ।
सामान्यतया धेरैजसो नेपाली बैंकहरूको मोबाइल बैंकिङ एपमार्फत यस प्रकारले डेबिट कार्डको PIN परिवर्तन गर्न सकिन्छ। तर बैंकको एप अनुसार प्रक्रिया केही फरक पनि हुन सक्छ। यस्तो अवस्थामा, आफ्नो बैंकको ग्राहक सेवामा सम्पर्क गरेर सोध्न सक्नुहुन्छ।
यदि तपाईंको बैंकको मोबाइल एपमार्फत PIN परिवर्तनको सुविधा छैन भने, तपाईंले इन्टरनेट बैंकिङ पनि प्रयोग गर्न सक्नुहुन्छ।
सामान्यतया धेरै बैंकहरूको इन्टरनेट बैंकिङमार्फत PIN रिसेट गर्ने प्रक्रिया मोबाइल बैंकिङमा जस्तै हुन्छ:
(क) इन्टरनेट बैंकिङ साइटमा लगइन गर्नुहोस्।
(ख) “Card Services” वा “Manage Debit Card” मा जानुहोस्।
(ग) PIN रिसेट गर्नको लागि विकल्प छान्नुहोस्।
(घ) OTP प्राप्त गरेर प्रमाणिकरण गर्नुहोस्।
(ङ) नयाँ PIN हालेर पुनः पुष्टि गर्नुहोस्।
मोबाइल वा इन्टरनेट बैंकिङ प्रयोग गर्न नसकिने अवस्थामा, तपाईंले नजिकको बैंक शाखामा गई PIN परिवर्तनको लागि आवेदन दिन सक्नुहुन्छ। बैंकमा PIN Reset फारम संगै आफ्नो परिचय खुल्ने कागजात जस्तै नागरिकता वा सरकारी परिचयपत्र पेश गर्नु पर्दछ।
पहिले जस्तो डेबिट कार्डको PIN परिवर्तन गर्न बैंक धाउनु पर्ने झन्झट अब छैन। मोबाइल बैंकिङ एप र इन्टरनेट बैंकिङ जस्ता आधुनिक सुविधाहरूले PIN बिर्सिए पनि सजिलै परिवर्तन गर्न सकिन्छ। यस्तो सेवाका लागि सानो शुल्क तिरेर बैंक जान नसक्ने वा असहज हुने समयमा यो निकै उपयोगी र सुविधाजनक विकल्प बनिदिन्छ।
Sign up to discover Saral Banking Sewa