mobile banking risks in public wifi nepal and tips to stay safe
24 Mar, 2025

सार्वजनिक Wi-Fi बाट डिजिटल बैंकिङ गर्दै हुनुहुन्छ? सतर्क रहनुहोस्, तपाईंको पैसा जोखिममा पर्न सक्छ

आजकल सार्वजनिक Free Wi-Fi जताततै उपलव्ध छ—कफी सप, एयरपोर्ट, रेस्टुरेन्ट, अनि सार्वजनिक स्थलहरूमा निशुल्क unsecured इन्टरनेटको सुविधा पाउन गाह्रो छैन। मोबाइल बैंकिङमार्फत पैसा तिर्ने प्रवृत्ति बढेसँगै, धेरैले मोबाइल डाटा बचाउन वा नभएको बेलामा आफ्नो डिजिटल बैंकिङ कारोबार गर्न यस्ता नेटवर्कको प्रयोग गर्छन्।

Secure WiFi network connection status indicator graphic

तर, के तपाईंलाई थाहा छ? यही कारणले तपाईंको बैंक खाता जोखिममा पर्न सक्छ! सावधान नभए, ह्याकरहरूले तपाईंको गोप्य वित्तीय जानकारी प्राप्त गरि तपाइको खाता एकछिन मै रित्याउन सक्छन्।

सार्वजनिक WiFi अथवा Unsecured नेटवर्क किन जोखिमपूर्ण छन्?

पासवर्डविना वा एउटै पासवर्ड प्रयोग गरेर जोसुकैले इन्टरनेट चलाउन सक्ने नेटवर्कलाई सार्वजनिक WiFi अथवा Unsecured नेटवर्क भनिन्छ। यस्ता सावर्जनिक WiFi वा नेटवर्कहरू सुरक्षित हुँदैनन्, किनभने तिनीहरूमा डाटा इन्क्रिप्सन (Data Encryption) र अन्य सुरक्षा प्रक्रियाहरु, जसले डाटालाई सुरक्षित राख्न मद्दत गर्दछ, प्रायः नहुने गर्दछ।
 

Public Wi-Fi sign with internet connectivity symbol

त्यसैले, जब तपाईं सार्वजनिक WiFi वा Unsecured नेटवर्कमा कनेक्ट हुनुहुन्छ, तपाईंका हरेक डिजिटल क्रियाकलापहरु ह्याकरहरुको लागि खुल्ला किताब जस्तै हुन पुग्छन्। यही कमजोरीको फाइदा उठाउँदै ह्याकरहरूले तपाईंका वित्तीय कारोबारका सबै गोप्य जानकारीहरूको दुरुपयोग गरि तपाईलाई ठग्न सक्छन्।

कसरी ह्याकरहरूले सार्वजनिक Wi-Fi को दुरुपयोग गर्छन?

सार्वजनिक नेटवर्क सबैको पहुँचमा हुन्छ। तपाईले सजिलै कुनै पनि सार्वजनिक नेटवर्कमा इन्टरनेट कनेक्ट गर्न सक्नुहुन्छ, ठीक त्यसरी नै ह्याकरहरू पनि बिना कुनै रोकटोक त्यही नेटवर्कमा कनेक्ट हुन सक्छन्। जब तपाई र ह्याकर एउटै नेटवर्कमा जोडिनुहुन्छ, उनीहरूले विभिन्न ह्याकिङ उपकरणहरूको प्रयोग गरी तपाईंको गोप्य डाटा चोरी गर्न सक्छन्। 

ह्याकरहरूले सार्वजनिक वा निःशुल्क WiFi को माध्यमबाट डाटा चोरी गर्ने विभिन्न तरिकाहरू अपनाउन सक्छन्। यद्यपि, केही सामान्य रूपमा प्रयोग गरिने विधिहरू यसप्रकार छन्:

१. Eavesdropping गरि डाटा चोरी

Eavesdropping लाई सरल भाषामा भन्नु पर्दा, जब तपाईं फोन कलमा हुँदा कसैले लुकेर तपाईंको सबै कुरा सुनेझैं, डिजिटल वित्तीय कारोबार गर्दा प्रयोग हुने सबै वित्तीय डाटा (जस्तै पासवर्ड, खाता नम्बरहरू) ह्याकरले तपाईंलाई थाहा नै नदिई प्राप्त गर्न सक्छन्।

२. म्यान-इन-द-मिडल आक्रमण (MITM)

Eavesdropping मा जस्तै म्यान-इन-द-मिडल आक्रमणमा ह्याकरहरुले चुपचाप तपाईको वित्तीय डाटा चोर्ने मात्र नभई तपाईं र बैंक वा वित्तिय संस्थाको सर्भर/वेबसाइटको बीचमा बसेर डाटा समेत परिवर्तन गर्न सक्छन्। 

३. नक्कली WiFi 

ह्याकरहरूले नक्कली WiFi नेटवर्क जसको नाम सार्वजनिक र असुरक्षित नेटवर्कसँग मिल्दोजुल्दो देखिने गरि सिर्जना गर्न सक्छन। उदाहरणका लागि, "!!Free_Wi-Fi!!" नामक असुरक्षित नेटवर्क बनाउन सक्छन्, र यो नेटवर्क नक्कली हो भनेर थाहा पाउन गाह्रो हुन्छ। थाहा नपाई यस किसिमको नेटवर्कमा जडान गर्दा, ह्याकरले तपाईंको पासवर्ड, बैंकिङ विवरणहरू, इमेल, आदि चोर्न सक्छ।

यी प्रक्रियाहरू बाहेक पनि, ह्याकरहरूले अन्य थुप्रै तरिकाहरूबाट सार्वजनिक र असुरक्षित नेटवर्कमार्फत तपाईंको वित्तीय कारोबारसँग सम्बन्धित जानकारीहरू प्राप्त गर्न सक्छन्। 

त्यसैले, डिजिटल बैंकिङ कारोबारको लागि सार्वजनिक, निःशुल्क वा अन्य कुनै पनि असुरक्षित (Unsecured) नेटवर्क प्रयोग नगर्नु नै उत्तम हुन्छ। यदि प्रयोग गर्नै परे, भने आवश्यक सतर्कता अपनाउनुपर्छ।

सार्वजनिक WiFi सुरक्षित रूपमा प्रयोग गर्ने उपायहरू

सार्वजनिक WiFi सुविधाजनक भए पनि यसमा ह्याकिङको जोखिम उच्च हुन्छ। त्यसैले सुरक्षित रूपमा प्रयोग गर्न यी उपायहरू अपनाउनुहोस्:
 

Wi-Fi available in a public area with internet access.

१. आधिकारिक VPN प्रयोग गर्नुहोस्

VPN (Virtual Private Network) सार्वजनिक WiFi वा नेटवर्क प्रयोग गर्दा तपाईंको इन्टरनेट ट्राफिकलाई इन्क्रिप्ट गरेर सुरक्षित राख्ने डिजिटल सुरक्षा उपकरण हो जसले गर्दा ह्याकरहरूले यसलाई हेर्न वा नियन्त्रण गर्न सक्दैनन्। 

यही कारणले नेपाल राष्ट्र बैंक (NRB) ले हालै एकीकृत निर्देशन जारी गर्दै, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ प्रणाली सञ्चालन गर्दा आधिकारिक VPN प्रयोग गरे/नगरेको पहिचान गरी आधिकारिक भीपीएन प्रयोग नभए एपमा लगइन गर्न नमिल्ने व्यवस्था संस्थाहरुले मिलाउनुपर्ने भनि फागुन २३ मा जारि एकीकृत निर्देशनमा उल्लेख गरेको छ।

त्यसैले, सार्वजनिक WiFi वा नेटवर्कबाट बैंकिङ कारोबार गर्दा वित्तीय डाटा सुरक्षित राख्नको लागि आधिकारिक VPN सेवाको मात्र प्रयोग गर्नुहोस्।

२. HTTPS भएको वेबसाइट मात्र प्रयोग गर्नुहोस्

कुनै पनि वेबसाइट प्रयोग गर्दा, यसको URL को सुरुमा "https://" छ कि छैन ध्यानपूर्वक जाँच गर्नुहोस् र सम्भव भएसम्म HTTPS भएका वेबसाइटहरू मात्र प्रयोग गर्नुहोस्। 

HTTPS डेटा इन्क्रिप्ट गरेर सुरक्षित बनाउँछ, जसले ह्याकरहरूबाट तपाईंको व्यक्तिगत जानकारी जोगाउँछ। यो नभएको खण्डमा, वेबसाइट असुरक्षित हुन सक्छ, र तपाईंको संवेदनशील डाटा चोरी हुने सम्भावना बढ्छ। त्यसैले, सुरक्षित ब्राउजिङको लागि सधैं HTTPS भएको वेबसाइट मात्र प्रयोग गर्ने बानी बसाल्नुहोस्।

३. संवेदनशील कार्य नगर्नुहोस्

बैंकिङ, अनलाइन किनमेल, वा पासवर्ड परिवर्तनजस्ता कुनै पनि संवेदनशील कार्यहरू सार्वजनिक WiFi अथवा नेटवर्क प्रयोग गरेर नगर्नुहोस्।

४. Auto-Connect बन्द गर्नुहोस्

यदी तपाईंको मोबाइल वा ल्यापटपमा Auto-Connect WiFi सुविधा सक्रिय छ भने, तपाईंको मोबाइल वा ल्यापटप आफैं सार्वजनिक नेटवर्क वा एउटै नाम भएका नक्कली सार्वजनिक WiFi नेटवर्कसँग कनेक्ट हुन सक्छ, जसले तपाईंको व्यक्तिगत जानकारी चोर्न ह्याकरलाई मद्दत गर्न सक्छ। त्यसैले, ह्याकरको जोखिमबाट बच्न Auto-Connect बन्द गर्नुहोस्।

५. Two-Factor Authentication प्रयोग गर्नुहोस्

Two-Factor Authentication (2FA) एक अतिरिक्त सुरक्षा प्रक्रिया हो, जसले तपाईंको खाता पहुँचलाई अझ सुरक्षित बनाउँछ। जब तपाईं आफ्नो पासवर्डको प्रयोग गरेर लगइन (Log In) गर्नुहुन्छ, 2FA ले तपाईंलाई थप एक प्रमाणीकरण माग्दछ, जस्तै SMS वा एपबाट प्राप्त कोड राखेर मात्र तपाईंले आफ्नो वित्तीय कारोबार गर्न सक्नुहुन्छ। यसरी, बैंकिंग एप्समा 2FA राखनाले ह्याकरलाई तपाईंको खातामा लगइन गरेर ठग्न झन कठिन बनाउँछ।

६. मोबाइल डाटाको प्रयोग

डिजिटल बैंकिङ कारोबारको लागि सार्वजनिक, निःशुल्क वा अन्य कुनै पनि unsecured नेटवर्कको सट्टामा मोबाइल डाटा प्रयोग गर्नुहोस्। यसले तपाईंको इन्टरनेट ट्राफिकलाई सुरक्षित राख्छ र अनधिकृत व्यक्तिको पहुँचबाट बचाउँछ।

७. प्रयोग नगर्दा WiFi बन्द राख्नुहोस्

प्रयोग नभएको बेलामा पनि WiFi चालु राखनाले अनावश्यक सुरक्षा जोखिमहरू निम्त्याउन सक्छ। त्यसैले WiFi बन्द गरि आफ्नो मोबाइल वा ल्यापटपमा अनधिकृत कनेक्शनबाट जोगाउन र व्यक्तिगत जानकारीलाई सुरक्षित राख्न मद्दत गर्दछ।

निष्कर्ष

सार्वजनिक वा असुरक्षित WiFi नेटवर्क प्रयोग गर्दा साइबर खतराको जोखिम निकै बढ्न सक्छ। ह्याकरहरूले यी नेटवर्कमा तपाईंको व्यक्तिगत र वित्तीय डाटा सजिलै चोरी गर्न सक्छन्।

आफ्नो डिजिटल बैंकिङ कारोबार सार्वजनिक वा असुरक्षित WiFi नेटवर्कमा सुरक्षित राख्नको लागि, Authorized VPN प्रयोग गर्नुहोस्, Auto-Connect बन्द गर्नुहोस्, र केवल HTTPS वेबसाइटहरूमा मात्र जानुहोस्। अन्यथा, मोबाइल डाटा प्रयोग गर्ने विचार गर्नुहोस्। यी सरल उपायहरूले तपाईंको अनलाइन बैंकिङ अनुभवलाई सुरक्षित र सुनिश्चित बनाउँछन्।

सधैं आफ्नो सुरक्षालाई प्राथमिकता दिनुहोस् र सार्वजनिक नेटवर्कमा कनेक्ट गर्दा सधैं सचेत रहनुहोस्—यी सतर्कताहरू अपनाउनाले तपाईंलाई सम्भावित वित्तीय ठगी र खतराबाट जोगाउन सक्छ। वित्तीय सेवाहरूको तुलना र अन्य महत्त्वपूर्ण सूचनाको विस्तृत जानकारी पाउनको लागि सरल बैंकिंग सेवाको ब्लग पोस्टहरू हेर्न सक्नुहुन्छ।