हामीलाई सानैदेखि बचत गर्नुपर्छ, खर्च गर्नु अघि दुई पटक सोच्नुपर्छ, अनावश्यक रूपमा पैसा उडाउनु हुदैन भनेर हाम्रा अभिभावकले सिकाउनु हुन्छ।
विशेषगरी महिलाहरूको हकमा यो सोच अझै बलियो हुने गर्दछ किनकि हरेक आमाले आफ्नो छोरिको घर-गृहस्थी सुदृढ होस् भनेर यी सबै सिकाउनु हुन्छ। र यही बचत गर्ने बानी महिलाहरूमा पुस्तौं-पुस्ता चल्दै आएको छ।
तर के बचत मात्र पर्याप्त छ त?
नेपालमा घर-गृहस्थी सँभाल्नका साथै परिवारको आर्थिक अवस्था सुधार्न महिलाहरूको भूमिका महत्वपूर्ण रहँदै आएको छ।
घरको दैनिक खर्च मिलाउनेदेखि भविष्यका लागि सुरक्षित पैसा जम्मा गर्ने कामसम्म, महिलाहरू सधैं अग्रसर रहन्छन्। यही परम्परा र अनुभवकै कारण नेपाली महिलाहरू आर्थिक रूपमा सचेत छन्। उनीहरू आफैं—डसना मुनि होस् वा भान्साको कुनै डब्बामा—पैसा बचत गर्ने गर्छन्।
तर, वित्तीय साक्षरताको अभाव, जोखिमप्रतिको डर, र समाजमा ठूला आर्थिक निर्णयहरू प्रायः पुरुषहरूले नै लिने चलनका कारण धेरैजसो नेपाली महिलाहरू आफ्नै बचतलाई उचित बैंक तथा वित्तीय संस्थाहरूको सेवाबाट नाफामा परिणत गर्न पछि पर्ने गर्छन्। बढ्दो मुद्रास्फीति (Inflation) का कारण आफूसँग जम्मा भइरहेको पैसाको मुल्यांकनबारे पनि धेरैजसो अनभिज्ञ रहन्छन्।
नेपालमा महिलाहरूलाई सानैदेखि "पैसा खर्च नगर्नू, जम्मा गर्नू" भनेर सिकाइन्छ। आर्थिक निर्णयमा महिलाहरूलाई बढी जोखिम नलिन प्रेरित गरिन्छ।
त्यसैगरी, महिलाहरूलाई घरेलु खर्च व्यवस्थापनको जिम्मेवारी दिइन्छ, तर भएको रकमलाई कसरी वृद्धि गर्ने, धेरै ब्याजदर दिने बैंकमा जम्मा गर्दा के फाइदा हुन्छ, र कसरी गर्न सकिन्छ भन्ने जस्ता विषय सिकाउने चलन भने निकै कम छ।
यही कारणले, "जम्मा मात्रै गरे पुग्छ" भन्ने मानसिकता बलियो बनेको छ, जसले गर्दा महिलाहरू पैसा जम्मा गर्नमै जोड दिन्छन्।
धेरै नेपाली महिलाहरू लगानीको कुरा गर्दा हिच्किचाउँछन्, किनकि उनीहरूको मनमा एउटा डर हुन्छ, "लगानी गरे पैसा डुब्ने त होइन?"
र यस प्रकारको डर आउनु स्वाभाविक पनि हो, किनकि हाम्रो समाजमा महिलाहरू प्रायः परिवारको आर्थिक सुरक्षाका लागि जिम्मेवार हुन्छन् र पैसा गुम्ने जोखिम लिनु उनीहरूका लागि असहजिलो उपाय हुने गर्दछ।
त्यसैगरी, बैंकमा पैसा राख्न र निकाल्नुपर्ने प्रक्रिया कतिलाई झन्जटिलो लाग्न सक्छ, र बैंकमा राखेको पैसा चाहिएको बेला निकाल्न नमिल्ने जस्ता गलत बुझाइ पनि नेपाली महिलाहरूको मनमा हुन्छ, जसले गर्दा उनीहरू आफूसँग रकम सुरक्षित र सहज राख्नलाई प्राथमिकता दिन्छन्।
नेपालमा वित्तीय साक्षरता अझै न्यून छ, विशेषगरी महिलाहरूमा। धेरै महिलाहरूलाई बैंकमा बचत खाता खोल्न आउँछ, तर कुन प्रकारको खाता खोल्दा राम्रो हुन्छ, कुन बैंकको कुन खातामा सबैभन्दा धेरै ब्याजदर छ, फिक्स डिपोजिटका फाइदाहरू के के हुन्—यी सबै कुराहरू थाहा हुँदैन। यही जानकारीको अभावले गर्दा महिलाहरू अधिकतम लाभ उठाउन सक्दैनन्।
सस्तो ब्याजदरमा लोन, विभिन्न वित्तीय योजनाहरू, र डिजिटल बैंकिङ जस्ता सुविधाहरूको बारेमा धेरै महिलाहरू अझै अपरिचित छन्। यसले उनीहरूलाई नयाँ वित्तीय अवसरहरूबाट वञ्चित पार्छ, जसका कारण उनीहरू बचतमा मात्र सीमित रहन्छन्।
उदाहरणको लागि, यदि तपाईंले हरेक महिना १,००० रुपैयाँ १० वर्षसम्म आफैं बचत गर्नुभयो भने, तपाईंको जम्मा रकम १ लाख २० हजार मात्रै हुनेछ।
तर, यदि यही पैसा सबैभन्दा धेरै ब्याजदर दिने बैंकको Recurring डिपोजिटमा लगानी गर्नुभयो भने, तपाईंले ४०,००० रुपैयाँसम्म थप नाफा कमाउन सक्नुहुनेछ।
यही फरकले बचत र वृद्धि को कथा परिवर्तन गर्छ। त्यसैले बचत गर्नु गलत होइन, तर बचत मात्र गरेर पैसा भने बढ्दैन।
बचत र खर्चको मामिलामा महिलाहरू प्रायः धेरै सचेत र जिम्मेवार हुन्छन्, तर अहिलेको बढ्दो महँगाइलाई हेर्दा सुनिश्चित भविष्यको लागि केवल पैसा जम्मा गर्नु पर्याप्त हुँदैन।
त्यसैले अब महिलाहरूले केवल पैसा बचाउनु होइन, त्यसलाई सबैभन्दा उत्तम वित्तीय सेवा र लगानी विकल्पहरूमा लगानी गरेर वृद्धि गर्न सिक्नुपर्छ।
अब 'बचत' बाट 'वृद्धि' को यात्रामा तपाईंले सानो रकमबाट न्यून जोखिम भएका, तर धेरै ब्याजदर दिने वित्तीय सेवाहरू जस्तै फिक्स डिपोजिट, विशेष किसिमको बचत खाता (महिला बचत, चल्ती खाता), र व्यवस्थित लगानी योजनाहरूबाट सुरुवात गर्न सक्नुहुन्छ।
यस्ता लगानीहरूले समयसँगै पैसा बढाउँछन् भने महिलाहरूलाई निश्चित आर्थिक सुरक्षाको अनुभव पनि दिलाउँन मद्धत गर्दछन्।
तर बैंक र वित्तीय संस्थाहरूको ब्याजदर फरक फरक हुने भएकाले, आफ्नो बचतबाट सबैभन्दा बढी मुनाफा पाउन, सरल बैंकिंग सेवा प्रयोग गरी कुन बैंकले धेरै ब्याजदर र सेवाहरू दिइरहेका छन् भनेर सजिलै थाहा पाउन सक्नुहुन्छ।
शेयर बजार, सुन चाँदी, घर-जग्गा जस्ता लगानी क्षेत्रहरूमा पनि महिलाहरूले आफ्नो बचत बढाउन सक्छन्। अहिलेको डिजिटल समयमा सामाजिक सञ्जालमार्फत नै यी सबैबारे जान्न र सिक्न सकिन्छ।
वित्तीय सेवाहरूको तुलनामा यस्ता लगानीहरूमा जोखिम बढी भए पनि, यसले दीर्घकालीन रूपमा राम्रो मुनाफा दिन सक्छ।
आफ्नो बचतलाई वृद्धि गर्नको निमित्त महिलाहरुले साना तथा घरेलु व्यापार वा व्यवसाय सुरु गर्न सक्छन्। डिजिटल युगले प्रदान गरेका अवसरहरू, जस्तै अनलाइन स्टोर, फ्रीलान्सिङ (freelancing), डिजिटल मार्केटिङ, र साना लगानीका अन्य व्यवसायहरूले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न मद्दत गर्न सक्छ।
व्यवसाय सुरु गर्दा धेरै रकम नै चाहिन्छ भन्ने होइन, सानो लगानीबाटै सुरुवात गर्न सकिन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको बजार राम्रोसँग बुझ्नु, प्रविधिको सही प्रयोग गर्नु, र अगाडि बढ्न वित्तीय योजना बनाउनु हो।
महिलाहरूले निष्क्रिय आय (अर्थात, एकचोटी गरे पछि समयको साथ बिस्तारै पैसा आईरहने) का स्रोतहरू विकास गर्दा घरमै बसेर पनि स्थिर आम्दानी गर्न सक्छन्।
लेख्न रुचाउनेले ब्लग वा ई-बुक बिक्री गर्न सक्छन्, भिडियो बनाउन चाहनेले यूट्युब वा टिकटकबाट आम्दानी गर्न सक्छन्, र सीप भएका महिलाहरूले अनलाइन कोर्स बेच्न सक्छन्। डिजिटल युगको सही उपयोगले महिलाहरूलाई वित्तीय सुरक्षातर्फ अघि बढ्न र आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग गर्छ।
महिलाहरूका लागि बचत र लगानी केवल आर्थिक सुरक्षा होइन, यो स्वतन्त्रता, आत्मनिर्भरता, र सुरक्षित भविष्यको आधारशिला हो। लामो जीवनकाल, आम्दानी असमानता, करियर ब्रेक, मुद्रास्फीति, र आकस्मिक खर्चहरू जस्ता कारणले महिलाहरूले समयमै वित्तीय योजना बनाउन आवश्यक छ।
सहि लगानीले पैसा जोगाउने मात्र होइन, सम्पत्ति वृद्धि गर्ने र जीवनका लक्ष्यहरू सहज रूपमा पूरा गर्ने अवसर पनि दिन्छ। सही वित्तीय रणनीति अपनाएर महिलाहरूले आफ्नो जीवनको नियन्त्रण आफैं लिन सक्छन्, आकस्मिक परिस्थितिहरूको सामना गर्न सक्षम हुन्छन्, र नयाँ पुस्तालाई वित्तीय सचेतना दिन सक्छन्।
अब, पहिलो कदम चाल्ने समय आएको छ—सानो रकमबाट सुरु गरी, लगानीका विभिन्न माध्यमहरू बुझी आर्थिक भविष्यलाई मजबुत बनाउनतर्फ अघि बढ्ने!
Sign up to discover Saral Banking Sewa