graduates-throwing-scholar-hat-in-the-air
01 Feb, 2022

अष्ट्रेलिया लगायत विदेशमा पढ्न जाने विद्यार्थीले धितोमा आधारित शैक्षिक कर्जा लिँदा ध्यान दिनु पर्ने कुराहरु

उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गरी नेपालमा अवस्थित विभिन्न बैंकहरुले शैक्षिक कर्जा सुविधा  गर्दै आइरहेका छन् ।

बैंकबाट उपलब्ध हुने यस्ता कर्जा सुविधा कहाँबाट लिने, कसरी लिने, कर्जा  गर्न के कति समय लाग्छ, व्याज कति लाग्छ, कर्जाका शर्तहरु के कस्ता हुन्छन् भन्ने प्रश्नहरु प्रायः विद्यार्थी तथा अभिभावकहरुको मनमा उठिरहेको हुन्छ ।

अष्ट्रेलिया लगायत विदेशमा पढ्न जाने विद्यार्थीले धितोमा आधारित शैक्षिक कर्जा लिने  विषयमा जानकारी दिने उद्देश्य सहित यो लेख सहयोगी होला भन्ने अपेक्षा गरेका छौं । यस सम्बन्धि अन्य जानकारी चाहिएमा हामीलाई https://www.saralbankingsewa.com/faq  लिङ्क माफर्त प्रश्न सोध्न सक्नुहुनेछ । यस सम्बन्धी केही सामान्य प्रश्नहरुका जवाफ यस FAQ लिङ्कमा पनि राखिएका छन् । कर्जा सम्बन्धी शर्तहरु बैंक पिच्छे फरक पर्न सक्ने हुनाले सम्बन्धित बैंकसँग सम्पर्क गर्न पनि आग्रह गर्दछौं । त्यस बाहेक, सम्बन्धित शिक्षण संस्था तथा एजुकेशनल कन्सल्टेन्सीका शर्त र सुझावहरु पनि ख्याल राख्नु पर्ने हुन्छ ।

शैक्षिक कर्जा

विदेशी शिक्षण संस्थाबाट उच्च शिक्षा हासिल गर्न विद्यार्थीलाई पढाई र बस्ने खर्च (tuition and living expenses) को श्रोतका लागि बैंकहरुले शैक्षिक कर्जा प्रदान गर्दछन् । नेपालमै अध्ययन गर्न चाहनेहरुका लागि पनि यो कर्जा सुविधा उपलब्ध छ ।  कुनै कुनै देशको आप्रवास (वा शिक्षण संस्थाका)े भिसा/भर्ना नीति अनुसार शैक्षिक कर्जालाई विद्यार्थीको पढाई र बस्ने खर्चको भरपर्दो स्रोत मान्ने हुनाले पनि यो कर्जा सुविधाको उपयोग लोकप्रिय छ । 

यी कर्जा सुविधाहरु सामान्यतः आवधिक (Term Loan) प्रकृतिका हुन्छन्, अर्थात,  कर्जा उपयोग गरेपछि मासिक वा अन्य अवधिमा वरावर किस्ता (equated Installment) मा साँवा (principal) र ब्याज (interest) चुक्ता भुक्तान गर्नुपर्छ । अधिविकर्ष (Overdraft loan) प्रकृतिका कर्जा पनि स्रोतको रुपमा मान्य हुन्छ । सुविधाहरु बैंकको नीति अनुसार प्रचलित ब्याजमा, पन्ध्र–बीस वर्षसम्मको अवधि वा आफुलाई अनुकूल कम अवधिका लागि पनि प्राप्त गर्न सकिन्छ ।

आयश्रोत

यो सुविधा व्यक्तिगत कर्जा अन्तर्गत पर्दछ । कर्जा सुविधा लिन इच्छुक व्यक्तिले बैंकलाई कर्जा आवेदनका साथ आफ्नो र एकाघरको परिवारको आयश्रोत र कर कट्टीको प्रमाण बुझाउनु पर्दछ । आवेदकको किस्ता तिर्ने क्षमता यकिन गर्दा बैंकहरुले विभिन्न प्रकारको आयश्रोतलाई मान्यता दिन्छन् । जस्तैः मुद्दत्ति खाताको व्याज आम्दानी, तलब/वेतन, व्यवसायबाट हुने आय, घर–जग्गा, गाडीको भाडा÷लीजबाट हुने आय इत्यादि । त्यस्तै, बैंकले विदेशमा कार्यरत एकाघरको परिवारका सदस्यको आयश्रोत पनि मान्यता दिन्छन् ।

सामान्यतः बैंकले आयश्रोत प्रस्तावित शैक्षिक कर्जाको कूल रकमको तिनुपर्ने मासिक (वा त्रैमासिक) किस्ता, ऋणी (Borrower) को परिवार संख्याको हिसाबले हुने मासिक घर खर्च, अन्य नियमित किसिमका दायित्वहरु जस्तै:  बीमाको प्रिमियम, अन्य व्यक्तिगत ऋण लिइरहेका भए त्यसको व्याज वा किस्ता जस्ता दायित्वहरु जोडेर हुन आउने रकम भन्दा बढी हुनु पर्ने शर्त राख्दछन् ।

कर्जा सुरक्षण (Collateral Security)

बैंकहरुले प्रदान गर्ने यस्ता सुविधा प्रायः धितो कर्जा प्रकृतिका हुन्छन् । अर्थात, ऋणीले आफ्नो वा एकाघरको परिवारको नाममा भएको कुनै अचल सम्पत्ति (Fixed Asset) सम्बन्धित मालपोत कार्यालय गएर धनी बैंकको नाममा धितो बन्धक (mortgage registration) लेखिदिनु पर्ने हुन्छ । ऋणीको बैंकमा रहेको मुद्दत्ति खातालाई सुरक्षण राख्न पनि पाइन्छ । धितो नराखी लिन सकिने कर्जा यस लेखको विषय नरहेकोले यहाँ समेटिएको छैन । त्यस्ता कर्जाको लागि सम्बन्धित बैंकसँग सम्पर्क गरी बुझ्न आग्रह गर्दछौं ।

अचल सम्पत्तिको हकमा, शैक्षिक कर्जा आवेदक (loan applicant) ले बैंकमा आवेदन दर्ता गर्दा धितो राखिदिने प्रयोजनको घर जग्गाको विवरण, लालपुर्जा, सम्पत्ति कर तिरेको प्रमाण, रजिष्ट्रेशन पास, चार किल्ला लगायतका कागजात बुझाउनुपर्छ । तत्पश्चात सो बैंकको सुचिकृत मुल्याङ्कनकर्ता इन्जिनियरबाट (listed valuer) सो अचल सम्पत्तिको मुल्याङ्कन गराइन्छ र त्यस सम्पत्तिले मुल्य कर्जा रकम थाम्ने÷नथाम्ने यकिन गरिन्छ । बैंकहरुले सम्पत्तिको बजार मुल्य माग भएको ऋण कर्जा रकमको दोब्बर मुल्य हुनुलाई सुरक्षित मान्दछन् ।

व्यक्तिगत जमानी

कर्जा सुरक्षणका रुपमा बैंकहरुले कर्जा आवेदकको एकाघरको परिवारको सदस्य (नाबालक बाहेक), आयश्रोत भएका व्यक्तिको समेत गरी व्यक्तिगत जमानी लिने गर्छन् ।

कर्जा सूचना तथा अन्य विश्लेषण (Credit history check and due diligence) कर्जाको आवेदन आए पश्चात बैंकले आयश्रोत यकिन, धितो लेखिदिने प्रयोजनको घर–जग्गाको मुल्याङ्कन गराउने बाहेक कम्तीमा कर्जा आवेदक, व्यक्तिगत जमानीकर्ता (personal guarantor), आयश्रोत भएको व्यक्ति लगायतले कुनै समयमा वा हाल ऋण लिएको÷नलिएको, लिएको भए ऋणको व्याज÷साँवा नियमित तिरेको÷नतिरेको, कालोसूचीमा सूचिकृत भएको/नभएको यकीन गर्दछन् । साथै, आवेदकको ठेगाना, धितोको अवस्था, आयश्रोतको जाँच लगायत विश्लेषण गर्दछन् ।

कर्जा स्वीकृति र उपयोग

यी सबै प्रकृया पुरा गरे पश्चात कर्जा स्वीकृतिको प्रकृया पुरा गर्दछन् र स्वीकृति पश्चात कर्जा स्वीकृति पत्र प्रदान गर्दछन् । विद्यार्थीले बैंकले दिएको कर्जा स्वीकृति पत्रलाई भिसा प्रकृयाको लागि सम्बन्धित आप्रवास कार्यालय (immigration office) वा कलेजमा आर्थिक श्रोतको रुपमा पेश गर्न पाउँछन् ।

ऋण स्वीकृति पश्चात सुरक्षण कागजातहरु, धितो तथा व्यक्तिगत जमानी लेखिदिने कार्य र कलेजमा ट्यूसन पठाउने कार्य सम्पन्न हुन्छ । सामान्यतः कर्जा उपयोग गरेको महिना वा अर्को महिनाबाट बैंकको किस्ता तिर्नुपर्ने समय सुरु हुन्छ ।

कर्जाको किस्ता हिसाब निकाल्न यो https://www.saralbankingsewa.com/ मा क्लिक गर्नुहोस् ।

बैंकको व्याज तथा सेवा शुल्क थाहा पाउन यो लिङ्कमा गई विभिन्न बैंकहरुको शैक्षिक कर्जा दाज्नुहोस् ।

https://www.saralbankingsewa.com/loan/education-loan

FAQ

कृपया यससित सम्बन्धित कुनै पनि प्रश्नहरु भएमा कृपया यहाँ लेख्नुहोस् ।

https://www.saralbankingsewa.com/faq