तेस्रो त्रैमासिकमा वाणिज्य बैंकहरूको संयुक्त नाफा १.४ प्रतिशतले बढ्यो
25 Apr, 2025

तेस्रो त्रैमासिकमा वाणिज्य बैंकहरूको संयुक्त नाफा १.४ प्रतिशतले बढ्यो !

नयाँ वर्ष २०८२ को आगमनसँगै, चालु आर्थिक वर्ष ८१/८२ को तेस्रो त्रैमास पनि सकिएको छ। यस अवधिमा नेपालका वाणिज्य बैंकहरूले आफ्नो नाफा सार्वजनिक गरेका छन् जसले बैंकिङ क्षेत्रको हालको आर्थिक अवस्था र चुनौतीहरूलाई स्पष्ट पारेको छ। नबिल बैंकको सबैभन्दा धेरै नाफाबाट लिएर नेपाल बैंकको २०००% भन्दा बढी नाफा वृद्धिसम्म, यस पटकका तथ्याङ्कहरू रोचक र महत्वपूर्ण छन्।

सार्वजनिक विवरणका अनुसार वाणिज्य बैंकहरूले संयुक्त रूपमा ४१.२५ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रहेको ४०.६८ अर्ब रुपैयाँको तुलनामा १.४०% ले वृदी भएको हो। 

२० वटा वाणिज्य बैंकमध्ये ११ वटा बैंकको नाफा बढेको छ भने ९ वटा बैंकको नाफा घटेको छ। गएको दोस्रो त्रैमासिकमा झैँ यस त्रैमासिकमा पनि नबिल बैंकले नै सबैभन्दा धेरै ५ अर्ब ५ करोड खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको ४ अर्ब ६६ करोड ८० लाख २९ हजार रुपैयाँको तुलनामा ८.२१% वृद्धि भएको हो। 
 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४५४ करोड रुपैयाँ नाफा कमाउँदै अघिल्लो वर्षको तुलनामा ३८.६१% ले वृद्धि गरि दोस्रो स्थानमा रहेको छ। त्यसैगरी ग्लोबल आईएमई बैंकले ४५३.४१ करोड रुपैयाँ कमाउँदै नाफामा ३७.१२% को वृद्धि गरेको छ। एभरेष्ट बैंकले ३४५.७६ करोड रुपैयाँ र माछापुच्छ्रे बैंकले ११०.२६ करोड रुपैयाँ नाफा कमाएका छन्, जसमा क्रमशः ३२.५५% र २८.९०% ले वृद्धि भएको देखिन्छ।

तर नाफा वृद्धिदरको आधारमा हेर्ने हो भने नेपाल बैंक अग्र स्थानमा रहेको छ। बैंकले चालु आर्थिक वर्ष ८१/८२ को तेस्रो त्रैमासिकमा २७८.३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको यही अवधिमा कमाएको १३.०५ करोड रुपैयाँको तुलनामा २०३२.९४% ले वृद्धि भएको हो।

यस बाहेक गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा वृद्धि गर्न सफल भएका बैंकहरुमा सानिमा, एनएमबि, प्रभु, नेपाल एसबीआई र लक्ष्मी सनराईज बैंक रहेका छन् जसमा क्रमशः १४.८०%, ५.८७%, ३.५१%, ३.३६%, र २.२४% वृद्धिदर रहेका छन्। 

तर, नाफा घटेका ९ बैंकहरुमा भने क्रमश प्राइम बैंक, स्टयान्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक, हिमालय बैंक, कुमारी बैंक र एनआईसी एसिया रहेका छन्। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पनि एनआईसी एसियाको वृद्धिदर सबै भन्दा धेरै घटेको थियो।

क्र.सं.वाणिज्य बैंकनाफा (रु. करोडमा)वृद्धिदर (%)
Q3 81/82Q3 80/81
नबिल५०५.१४४६६.८८.२१%
नेपाल इन्भेष्टमेन्ट मेगा४५४.००३२७.५३३८.६१%
ग्लोबल आइएमई४५३.४१३३०.६६३७.१२%
एभरेष्ट३४५.७६२६०.८५३२.५५%
नेपाल२७८.३५१३.०५२०३२.९४%
एनएमबि२३७.३३२२४.१६५.८७%
प्राइम२२२.९३२८७.८७-२२.५६%
स्टान्डर्ड चार्टर्ड२१७.३८२४४.७१-११.१७%
प्रभु१८७.६११८१.२५३.५१%
१०कृषि१८४.४४२०५.३२-१०.१७%
११सिद्धार्थ१६६.८३१६८.४१-०.९४%
१२सानिमा१६५.२५१४३.९४१४.८०%
१३लक्ष्मी१६५.२२१६१.५९२.२४%
१४राष्ट्रिय वाणिज्य१२०.४४२३७.४८-४९.२९%
१५नेपाल एसबिआइ१२०.३३११६.४२३.३६%
१६माछापुच्छ्रे११०.२६८५.५४२८.९०%
१७सिटिजन्स९६.१९१२१.१४-२०.६०%
१८हिमालयन५०.००१९४.८२-७४.३३%
१९कुमारी२८.५८१०५.२८-७२.८५%
२०एनआइसी एशिया१५.६८१९१.४९-९१.८१%
कुल लाभ४,१२५.१०४०६८.२९१.४०%

किन घट्यो नाफा?

सञ्चालनमा रहेका २० मध्ये ९ वाणिज्य बैंकहरूको नाफा वृद्धिदर ओरालो लाग्नुको मुख्य कारण भनेको बढ्दो निष्क्रिय कर्जा रहेको देखिन्छ। सार्वजनिक तथ्यांकअनुसार, एनआईसी एशिया बैंकको निष्क्रिय कर्जा अनुपात ५.७५ प्रतिशत पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको ३.०८ प्रतिशतको तुलनामा २.६७ प्रतिशतले बढी हो। 

साथै, मुनाफामा कायम रहेका दुई बैंक (स्ट्यान्डर्ड चार्टर्ड र एभरेस्ट बैंक) बाहेक अन्य सबै बैंकहरूको निष्क्रिय कर्जा अनुपात १.५ प्रतिशतदेखि २.७२ प्रतिशतसम्मले वृद्धि भएको छ। 

यही बढ्दो अनुपातले बैंकहरूको नाफामा नकारात्मक प्रभाव पार्दै गएको प्रष्ट देखिन्छ, जुन हालको वित्तीय अवस्थाको मुख्य चुनौतीका रूपमा उभिएको छ।