Graph showing interest rate fluctuations in Nepal affecting loans and bank deposit rates, reflecting changes in Nepal Rastra Bank monetary policy
03 Apr, 2025

Bank Loan किन Reject हुन्छ? जानौ तपाईंको ऋण अस्वीकृत हुने ५ कारण

केहि समययता बैंक तथा वित्तिय संस्थाहरुले नेपाली बजारको तरलता घटाउन र वित्तिय कर्जालाई प्रोत्साहन गर्नको निमित्त ऋणको ब्याजदर घटाएका छन्, त्यसैले घर किन्न, व्यवसाय विस्तार गर्न वा व्यक्तिगत आवश्यकताका लागि वित्तिय कर्जा वा ऋण लिन चाहने हरुको लागि यो सबै भन्दा उपयुक्त समय हो। 

तर ब्याजदर सस्तो बनायो भन्दैमा नेपाली बैंकहरुले कर्जा स्वीकृति सहज नै बनाएको भने छैन। सोहि कारण बैंकबाट सजिलै ऋण स्वीकृति पाउने ग्यारेन्टी छैन। त्यसैले यदि तपाईं पनि ऋण आवेदनको लागि सोच्दै हुनुहुन्छ भने, बैंकले अस्वीकृत गर्ने प्रमुख कारणहरू बुझेर समय, श्रम, र निराशाबाट जोगिन सक्नुहुन्छ।

Person reviewing bank interest rates in Nepal, analyzing impact on personal loans and savings amid interest rate changes by banks

तपाईंको Bank Loan अस्वीकृत (Reject) किन हुन सक्छ?

बैंकले कुनै पनि कर्जा प्रवाह गर्नु अघि ऋणीको वित्तीय पृष्ठभूमिको गहिरो मूल्याङ्कन गर्दछ र त्यसका आधारमा ऋण स्वीकृत गर्ने या नगर्ने निर्णय लिन्छ। यस प्रक्रियामा, बैंकले मुख्यत: आवेदकको विगतको दिनमा लिएको ऋण विवरण, आयका स्रोतहरू, धितोको मूल्याङ्कन, र अन्य वित्तीय पक्षहरूका बारेमा विस्तृत रूपमा अध्ययन गर्छ।

१. पुराना कर्जा विवरण (Loan History)

ऋण दिनु अघि बैंकले सबैभन्दा पहिला तपाई यस अघि कर्जा सूचना केन्द्र लिमिटेड (Credit Information Bureau, CIB) को कालोसूचीमा हुनुहुन्छ कि छैन भनेर जाँच गर्छ। यदि तपाईं कालोसूचीमा हुनुहुन्छ भने, बैंकले तपाईको ऋण स्वीकृत गर्ने सम्भावना शून्य हुन्छ। 

त्यसपछि, बैंक तपाईले यस अघि कुनै वित्तीय ऋण तथा कर्जा लिनु भएको थियो कि थिएन भनेर जाँच गर्छ। यदि तपाईले ऋण लिनु भएको थियो भने, त्यस ऋणको भुक्तानी अवस्था कस्तो थियो भन्ने कुरा बैंकले हेर्छ।

(क) अघिल्लो ऋणको भुक्तानी स्थिति कस्तो छ?

यदि तपाईंले समयमै सबै किस्ता तिर्नुभएको छ भने, बैंकले नया ऋण पनि तपाईंले समयमै तिर्न सक्नु हुन्छ भनेर विश्वास गर्छ। तर, यदि तपाईंले ढिला तिर्नुभएको छ, कुनै किस्ता छुट्न गएको छ, वा बक्यौता छ भने, तपाईको ऋण आवेदनमा नराम्रो प्रभाव पार्न सक्छ र अन्ततः स्वीकृत नहुने प्रमुख कारण बन्न सक्छ।

(ख) हाल अन्य कति ऋण छन्? 

तपाईंको आम्दानीको तुलनामा यदि धेरै ऋणहरू छन् भने, बैंकले तपाईलाई नयाँ ऋण तिर्न असक्षम ठानी तपाईको ऋण स्वीकृत गर्न हिचकिचाउन सक्छ।

(ग) अघिल्लो ऋणहरू पूरा चुक्ता गरिएको छ कि बाँकी छ?

यदि तपाईंको सबै ऋणहरू पूरा चुक्ता भइसकेका छन् भने, बैंकले तपाईंलाई भरपर्दो ग्राहकको रूपमा लिन्छ। तर, ऋणहरू अझै पनि तिर्न बाँकी छ भने, बैंकले तपाईलाई जोखिमको रूपमा देख्न सक्छ।

(घ) बारम्बार ऋण लिने बानी छ कि छैन?

यदि तपाईं बारम्बार साना ऋणहरू लिइरहनुहुन्छ वा धेरै पटक ऋण आवेदन दिनुहुन्छ र भुक्तानी समयै गर्नु हुदैन भने पनि, बैंकले तपाईंलाई अस्थिर वित्तीय स्थितिको रूपमा हेर्न सक्छ।

२. उच्च ऋण-आय अनुपात

ऋण-आय अनुपात (Debt-to-Income Ratio, DTI) भन्नाले तपाईको मासिक ऋण भुक्तानी र मासिक आय बीचको अनुपात हो जसले बैंकहरूलाई तपाईले आफ्नो कुल आयबाट कति प्रतिशत ऋण भुक्तानी गर्न सक्नु हुन्छ भन्ने कुरा बुझाउँछ। 

यदी तपाईको ऋण-आय अनुपात धेरै छ भने बैंकले तपाईं पहिले नै धेरै ऋणमा फसेको हुनुहुन्छ र नयाँ ऋणको भुक्तानी गर्न तपाईलाई कठिनाइ हुन सक्छ भनेर तय गर्दछ। सोहि कारण तपाईको ऋण आवेदन अस्वीकृत हुन सक्छ। 

३. आय स्थिरता र पर्याप्तता (Income Stability and Sufficiency)

तपाईले ऋण लिगीसके पछि भविष्यमा तिर्न सक्षम हुनु हुन्छ कि हुदैन जाँच गर्न तपाईको आयको स्थिरता र पर्याप्ततालाई बैंकले मूल्याङ्कन गर्छ। यदि तपाईंको आय स्रोत स्थिर, नियमित र पर्याप्त छ भने, बैंकले तपाईलाई ऋण प्रवाह गर्न कुनै समस्या हुदैन। यसका लागि बैंकले तपाईंको रोजगार स्थिति, व्यवसायको अवस्था, र आम्दानीका अन्य स्रोतहरूको विश्लेषण गर्छ। 

तपाईंको आय पर्याप्त छ कि छैन भनेर जान्नका लागि, बैंकले तलब पर्ची (Salary Slip) , बैंक स्टेटमेन्ट, र व्यवसायको वित्तीय विवरणका आधारमा सुनिश्चित गर्छन्।। यदि तपाईंको आय पर्याप्त छैन वा अस्थिर छ भने तपाईंको भुक्तानी क्षमतामा शंका उत्पन्न भई नयाँ ऋण स्वीकृत गर्न बैंकले हिचकिचाउन सक्छ।

तपाईलाई बैंकले मासिक बचतको आधारमा कति हाराहारी सम्मको ऋण दिन सक्छ भनेर अनुमान गर्न सरल बैंकिंग सेवाको Loan Eligibility Calculator को प्रयोग गर्न सक्नु हुन्छ।    

४. धितो मूल्याङ्कन (Collateral Evaluation)

नेपालका बैंकहरुले ऋणको लागि तपाईले राख्ने धितोको मूल्याङ्कन गरेर मात्रै ऋण स्वीकृति दिने गर्दछन्। मूल्याङ्कन क्रममा बैंकले तपाईको धितो बैंकको मापदण्ड अनुसार छ कि छैन् भनेर जाँच गर्दछ। धितोमा जग्गा अथवा भुमि राखेको खण्डमा बैंकको मापदण्ड निम्न प्रकारका छन्,

Visual representation of Nepal's banking interest rates, highlighting the effects of interest rate fluctuations on loans and deposits.

(क) सडक पहुँच: जग्गा कम्तीमा पनि ८ फिट चौडाइको मोटरबाटो हुनुपर्नेछ, 

(ख) गुथी र मोहीबाट मुक्त: गुठी र/वा मोही (धार्मिक वा परंपरागत प्रयोगका लागि राखिएको भूमि) नलागेको जग्गा हुनुपर्नेछ,

(ग) हाई टेन्सन लाइनको दूरी: जग्गा उच्च भोल्टेजको विद्युतिय लाइनहरुबाट टाढा हुनु पर्छ,

(घ) तेस्रो पक्षको स्वामित्व: जग्गा तेस्रो पक्षको स्वामित्वमा नभएको हुनु पर्छ। 

यस बाहेक, बैंकले धितोको मूल्याङ्कन गर्दा यदि धितो प्राकृतिक प्रकोप (बाढी, पहिरो, भूकम्प) को उच्च जोखिमयुक्त क्षेत्रमा छ, कानुनी विवाद वा अदालती मुद्दामा परेको छ, वा तपाईंले बैंकको धितो-ऋण अनुपात (Loan-to-Value Ratio, LTV) भन्दा बढी ऋणको लागि आवेदन गर्नुभएको छ भने, ऋण अस्वीकृत हुन सक्छ। 

साथै, यदि जग्गा पहिले नै अन्य बैंकमा धितो राखिएको छ वा कुनै बन्धक (mortgage) रहेको छ भने, सोही धितो राखेर नयाँ ऋण लिन समस्या हुन सक्छ।

५. नियामक र कागजात सम्बन्धी समस्या

यदि बैंक ऋणका लागि पेश गर्नुपर्ने आवश्यक कानुनी कागजातहरू, जस्तै लालपुर्जा, राजीनामा/अंशबन्डा, मालपोत रसिद, स्वामित्व प्रमाणपत्र, नापी रजिष्ट्रेसन, कर तिरेको प्रमाण, चार किल्ला प्रमाणपत्र आदि अपूर्ण, नक्कली वा विवादित छन्, वा नियामक मापदण्ड पूरा गर्दैनन् भने, तपाईंको ऋण आवेदन अस्वीकृत हुन सक्छ। 

नेपाली सर्वसाधारणले ऋण आवेदन गर्दा सबैभन्दा धेरै सामना गर्ने समस्या भनेको एउटै व्यक्तिको नाम विभिन्न कागजातहरूमा फरक वा गलत हुने जस्तै नागरिकतामा र लालपुर्जामा नाम छुट्टै हुनाले बैंक प्रक्रियामा ढिलाइ तथा जटिलता ल्याउँछ। 

कुनै पनि प्रकारको वित्तीय ऋण लिँदा बैंकले आवश्यक पर्ने कागजातहरू सरल बैंकिङ सेवाको कर्जा विवरण पेजमा हेर्न सक्नुहुन्छ।

निस्कर्ष

वित्तीय बजारमा बैंक सँग ऋण दिनका लागि पर्याप्त पुंजी भयता पनि, सबै बैंकहरुले ऋण दिनु अघि आवेदकहरुको वित्तिय अवस्था विस्तृत रुपमा जाँच गरेर मात्रै ऋण प्रवाह गर्ने गर्दछन्। त्यसैले, ऋण आवेदन दिएर अस्वीकृत हुनु भन्दा अगावै अस्वीकृत हुनुका प्रमुख कारणहरू बुझेर सहजै बैंकबाट ऋण प्राप्त गर्न सकिन्छ। 

यदी ऋण लिने सोच्दै हुनु हुन्छ भने अहिले नै आफ्नो कर्जा विवरणहरु मिलाउने, आय स्थिर, ऋण-आय अनुपात सन्तुलित, धितो बैंकको मापदण्डअनुसार, र कागजातहरू पूर्ण तथा अद्यावधिक छन् कि छैनन् भन्ने कुरा सुनिश्चित गर्नुहोस्।

सचेत रूपमा तयारी गरेमा, ऋण स्वीकृत गराउन सहज हुनेछ, जसले तपाईको वित्तीय योजना सफल बनाउन मद्दत गर्नेछ।