Image showcasing Senior Citizen Accounts, detailing benefits and features designed for elderly individuals
09 Jan, 2025

जानौ ज्येष्ठ नागरिक बचत खाताको ५ सुनौला फाइदाहरु !

ढल्किदो उमेर सँगसँगै आर्थिक सुरक्षाको महत्व पनि बढ्दै जान्छ। झन् अवकाश पछिको नियमित आम्दानी बन्द हुँदा दैनिक खर्च र आकस्मिक खर्च सम्हाल्न समेत चुनौतीपूर्ण हुन सक्छ। त्यही समस्या समाधान गर्न र वृद्ध नागरिकहरूको आर्थिक तथा व्यक्तिगत जीवनलाई सहज बनाउने उद्देश्यले नेपाली बैंक तथा वित्तीय संस्थाहरूले ज्येष्ठ नागरिक बचत खाताको सुरुवात गरेका हुन्।

ज्येष्ठ नागरिक बचत खाता भनेको ५० वर्ष वा सोभन्दा माथिका उमेरका व्यक्तिहरूका लागि विशेष रूपमा डिजाइन गरिएको बचत खाता हो। यो खातामा साधारण बचत खाताभन्दा अतिरिक्त सेवा र सुविधाहरू उपलब्ध गराइन्छ, जसले यस उमेर समूहका नागरिकहरूको वित्तीय आवश्यकतालाई अझ सहज र सुविधाजनक बनाउँछ।

उच्च ब्याजदर, निःशुल्क स्वास्थ्य बीमा, वित्तीय सेवाहरूमा विशेष छुट, र अन्य लाभदायक सुविधाहरू विभिन्न बैंकहरूले ज्येष्ठ नागरिक बचत खातामार्फत उपलब्ध गराउँदै आएका छन्। त्यसैले थप ढिलाइ नगरी, हामी ती फाइदाहरूको बारेमा विस्तृत रूपमा जानौँ।

१. उच्च तथा आकर्षक ब्याजदर

नेपालका केहि बैंकहरुको ज्येष्ठ नागरिक बचत खातामा सामान्य बचत खाताभन्दा बढी ब्याजदर हुने गर्दछ, जसले वृद्ध उमेरमा थप आयको सुनिश्चितता दिदै वृद्ध व्यक्तिहरूलाई बचत गर्न र आत्मनिर्भर बन्न प्रोत्साहन गर्दछ। 

अहिले प्राइम कमर्सियल बैंक लिमिटेडले प्राइम ज्येष्ठ नागरिक बचत खातामा ४.९५% ब्याजदर दिदै आएरहेका छन् भने कृषि विकास बैंकले ४.७६% ब्याजदर प्रदान गर्दे आएका छन्। तर धेरैजसो नेपाली बैंकहरुमा ज्येष्ठ नागरिक बचत खाताको ब्याजदर सामान्य बचत खाताको सरह ३% नै रहेका छन्। 

यदि तपाईंलाई विभिन्न बैंकहरूले ज्येष्ठ नागरिक बचत खातामा कति ब्याजदर र कसले सबैभन्दा बढी प्रदान गर्दैछन् भनेर हेर्न र तुलना गर्न चाहनुहुन्छ भने, हाम्रो सरल बैंकिङ सेवाको तुलना उपकरण प्रयोग गर्न सक्नुहुन्छ।

Senior Citizen Account promotional image, featuring benefits and features for elderly customers

२. निःशुल्क स्वास्थ्य बीमा

केही बैंक तथा वित्तीय संस्थाहरूले ज्येष्ठ नागरिक बचत खातासँग स्वास्थ्य बीमाको सुविधा पनि प्रदान गर्छन्, जसले आकस्मिक स्वास्थ्य खर्चमा राहत दिन्छ। 

उधाहरणको लागि लक्ष्मी सन्‌राइज बैंकको सम्मान बचत खातामा प्रति वर्ष रु.१००,००० सम्मको स्वास्थ्य बीमा र रु. ५००,००० सम्मको दुर्घटना मृत्यु/अपाङ्गता बीमा प्रदान गर्देइ आइरहेका छन्। बीमा सुबिधा सबै बैंकहरुमा उपलब्ध नभएकाले कुन कुन बैंकहरुले बीमा सुविधा दिरहेका छन् जान्नको लागि, हाम्रो सरल बैंकिंग सेवाको वेबपेजमा गएर हेर्न सक्नु हुनेछ। 

Promotional image for Senior Citizen Account in Nepal, highlighting benefits and features tailored for elderly customers

३. विशेष छुट, प्राथमिकता सेवा र वार्षिक बोनस 

ज्येष्ठ नागरिक बचत खाताको अर्को महत्त्वपूर्ण फाइदा भनेको, जुनसुकै बैंक शाखामा वृद्ध नागरिकलाई प्रमुख प्राथमिकता दिइने व्यवस्था हो। यसका साथै, विभिन्न बैंकिङ सेवाहरू, जस्तै लकर सेवा, चेकबुक, डेबिट कार्ड, इन्टरनेट बैंकिङ लगायत अन्य सेवाहरूमा विशेष छुट उपलब्ध गराइन्छ।

वृद्ध अवस्थामा हिँड्डुल गर्न गाह्रो हुन सक्ने भएकाले, केही बैंकहरूले घर-घरमै आएर खाता खोल्न, चेकबुक लिन, वा नगद झिक्न र राख्न मिल्ने 
होम बैंकिङ सुविधा पनि उपलब्ध गराएका छन्। त्येसैगरि ज्येष्ठ नागरिकलाई प्रोत्साहन गर्नका लागि केही बैंक तथा वितिय सस्थाहरुले वार्षिक 
वोनस वा उपहार प्रदान गर्छन। जस्तै हिमालयन बैंकले "सुबिधा बचत खाता" अन्तर्गत खातावाला वृद्ध व्यक्तिलाई जन्मदिनको कार्ड र केक घरमै
पुराउने सेवा प्रदान गर्देइ आएका छन्।

Image depicting a Senior Citizen Account, showcasing benefits and services designed for elderly individuals

४. न्यूनतम ब्यालेन्समा लचकता

ज्येष्ठ नागरिक बचत खातामा न्यूनतम मौज्दात रकम प्राय: शून्य वा रु. १०० हुने भएकाले, हरेक किसिमको आम्दानी भएका वृद्ध व्यक्तिले यो खाता सजिलै खोल्न र यसका सुविधाहरू प्राप्त गर्न सक्छन्। तर, आकर्षक बैंकिङ सुविधाहरू उपलब्ध गराउने केही ज्येष्ठ नागरिक बचत खातामा न्यूनतम मौज्दात रकम बढी हुन सक्छ।

उदाहरणका लागि, एनआईसी एशिया बैंकको "सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता" मा धेरै सुविधाहरू उपलब्ध छन्, तर यस खाताको न्यूनतम मौज्दात रकम रु. १,००,००० रहेको छ। 

Promotional image for Senior Citizen Account, featuring details and benefits tailored for elderly customers

५. मासिक ब्याज र सुरक्षित बचत

वृद्ध नागरिकहरूले मासिक रूपमा आफ्नो बचत खातामा जम्मा भएको रकमअनुसार ब्याज प्राप्त गर्न सक्छन्, जसले उनीहरूको नियमित खर्चमा टेवा पुर्‍याउन मद्दत गर्दछ। दैनिक रूपमा ब्याजदर गणना भए तापनि, हरेक महिनाको अन्त्यमा एकमुष्ट ब्याज रकम जम्मा गरिन्छ। तर मासिक ब्याजदरको सुविधा केही बैंकहरूले मात्र प्रदान गर्दछन् र प्रायः बैंकहरूले ज्येष्ठ नागरिक बचत खातामा त्रैमासिक रूपमा ब्याजदर दिने गर्दछन्। थप जानकारीको लागि जेष्ठ नागरिक खाताको विशेषताहरू हेर्नुहोस्

ज्येष्ठ नागरिक बचत खाता प्रायः कम जोखिमयुक्त हुने भएकाले, यसमा सुरक्षित रूपमा बचत गरेर निश्चित ब्याज आर्जन गर्न सकिन्छ। साथै, वृद्ध व्यक्तिहरूलाई सम्भावित धोखाधडीबाट जोगाउनका लागि बैंकहरूले यस प्रकारका खाताहरूमा हुने कारोबारको विशेष निगरानी गर्दछन् र कुनै शंकास्पद गतिविधि देखिएमा तुरुन्त सचेत गराउँछन्।

Promotional image for Senior Citizen Account in Nepal, highlighting features and benefits for elderly customers

निस्कर्ष

ज्येष्ठ नागरिक बचत खाता वृद्ध व्यक्तिहरूको आर्थिक सुरक्षा र समृद्धिका लागि एउटा भरपर्दो विकल्प हो। यसले उच्च ब्याजदर, सुरक्षित बचत, विशेष छुट, तथा अन्य लाभदायी सुविधाहरू प्रदान गरी बुढेसकालको जीवनलाई सहज र आत्मनिर्भर बनाउन सहयोग गर्दछ। त्यसैले, यदि तपाईँ वा तपाईँको परिवारका कुनै ज्येष्ठ सदस्यले अझ सुरक्षित र सुव्यवस्थित भविष्य चाहनुहुन्छ भने, आजै ज्येष्ठ नागरिक बचत खाता खोल्नुहोस्।