Banner image with the text "Commercial Banks Profit Improved - Increment by 19.30%" and the logo of Saral Banking Sewa
01 May, 2026

तेस्रो त्रैमासिकमा वाणिज्य बैंकहरूको संयुक्त नाफा १९.३० प्रतिशतले बढ्यो!

आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक (Q3) अर्थात् चैत मसान्तसम्मको वित्तीय विवरणले नेपाली बैंकिङ्ग क्षेत्रमा उल्लेखनीय सुधारको संकेत गरेको छ। नेपाल राष्ट्र बैंकले अपनाएको लचिलो नीतिको प्रभावस्वरूप २० वाणिज्य बैंकहरूको संयुक्त खुद नाफा गत वर्षको तुलनामा १९.३० प्रतिशतले बढेको छ।

गत वर्ष यही अवधिमा रु. ४१.२५ अर्ब नाफा कमाएका बैंकहरू यस वर्ष रु. ४९.२१ अर्ब कमाउन सफल भएका छन्। यो तथ्यांकले राष्ट्र बैंकले कर्जा पुनरसंरचना र ऋण हानि (Loan Loss) प्रावधानमा दिएको छुटको सकारात्मक प्रभाव देखाउँछ। यसका साथै बैंकहरूले कमिसन र बैंकिङ शुल्कबाट आर्जन गरेको आम्दानीमा सुधार र स्प्रेड रेटमा आएको कमीले पनि नाफा वृद्धिमा योगदान पुर्‍याएको छ।

कुन कुन वाणिज्य बैंकहरूको नाफा कति?

२० वटा वाणिज्य बैंकमध्ये १३ वटा बैंकको नाफामा वृद्धि भएको छ भने ७ वटा बैंकको नाफा घटेको छ। यस तथ्याङ्कले समग्र बैंकिङ्ग क्षेत्र सुधारोन्मुख देखिए पनि बैंकपिच्छेको अवस्था (Individual Performance) भने धेरै फरक-फरक रहेको देखाउँछ।

नाफा वृद्धिको दौडमा यसपटक कुमारी बैंकले चमत्कारिक नतिजा निकालेको छ। कुमारी बैंकले १३६१.८६ प्रतिशतको विशाल वृद्धि हासिल गर्दै रु. ४.१७ अर्ब नाफा कमाएको छ। गत वर्ष यही अवधिमा कुमारी बैंकको खुद नाफा मात्र रु. २८.५८ करोड रहेको थियो।

रकमको हिसाबले नबिल बैंक नै सबैभन्दा अगाडि छ। नबिलले गत वर्षको ५.०५ अर्बको तुलनामा ३३.९२ प्रतिशतले नाफा बढाउँदै यस त्रैमासमा सबैभन्दा धेरै रु. ६.७६ अर्ब खुद नाफा कमाएको छ। यो वृद्धिदर उद्योगको औसतभन्दा पनि उल्लेखनीय रूपमा बढी रहेको छ।

खुद नाफा ४ अर्ब भन्दा धेरै कमाउनेमा नबिल बैंक (६.७६ अर्ब), ग्लोबल आईएमई (४.४० अर्ब) र कुमारी बैंक (४.१७ अर्ब) रहेका छन्। प्रतिशतको आधारमा हेर्दा कुमारी बैंक पछि राष्ट्रिय वाणिज्य बैंकले १२९.३४ प्रतिशतको वृद्धिसाथ रु. २.७६ अर्ब नाफा कमाएको छ। यसैगरी हिमालयन बैंकको नाफा ५२.४९ प्रतिशत र माछापुच्छ्रे बैंकको ५०.४३ प्रतिशतले बढेको छ।

नाफा घट्ने बैंकहरू

त्यसैगरि, यस त्रैमासमा प्रभु बैंकको नाफामा सबैभन्दा धेरै गिरावट आएको छ। प्रभु बैंकको खुद नाफा ५४.६१ प्रतिशतले घटेर रु. ८५.१५ करोडमा सीमित भएको छ। गत वर्ष यसको नाफा रु. १.८७ अर्ब थियो।

यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB) को नाफा ३०.६९ प्रतिशतले घटेर रु. ३.१४ अर्ब र कृषि विकास बैंकको नाफा २४.४२ प्रतिशतले घटेर रु. १.३९ अर्ब पुगेको छ। यसका अतिरिक्त स्ट्यान्डर्ड चार्टर्ड बैंक (-४.२४%), एभरेष्ट बैंक (-३.७१%) र ग्लोबल आईएमई बैंक (-२.९३%) को नाफामा पनि सामान्य गिरावट आएको छ।

 बैंकअपरिष्कृत खुद नाफा (अर्ब रु. मा)वृद्धि (%)
Q3 (२०८२/०८३)Q3 (२०८१/०८२)
नबिल बैंक लि.६.७६४६५.०५१४३३.९२%
ग्लोबल आईएमई बैंक लि.४.४०१७४.५३४-२.९२%
कुमारी बैंक लि.४.१७८०.२८५८१३६१.८६%
एभरेष्ट बैंक लि.३.३२९३३.४५७६-३.७१%
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि.३.१४६७४.५४-३०.६९%
प्राइम कमर्सियल बैंक लि.३.०८९३२.२२९३३८.५८%
नेपाल बैंक लि.२.७९२९२.७८३४०.३४%
राष्ट्रिय वाणिज्य बैंक लि.२.७६२१.२०४३१२९.३४%
एनएमबि बैंक लि.२.६८७७२.३७३२१३.२५%
१०सानिमा बैंक लि.२.३५०२१.६५२४४२.२३%
११स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लि.२.०८१६२.१७३७-४.२४%
१२लक्ष्मी सनराइज बैंक लि.२.०३८११.६५२१२३.३६%
१३सिद्धार्थ बैंक लि.२.०१४८१.६६८२२०.७८%
१४माछापुच्छ्रे बैंक लि.१.६५८६१.१०२६५०.४३%
१५नेपाल एसबीआई बैंक लि.१.४६१७१.२०३२२१.४८%
१६कृषि विकास बैंक लि.१.३९३९१.८४४३-२४.४२%
१७सिटिजन्स बैंक इन्टरनेशनल लि.१.३०६४०.९६१८३५.८३%
१८प्रभु बैंक लि.०.८५१५१.८७६-५४.६१%
१९हिमालयन बैंक लि.०.७६२५०.५००४५२.३८%
२०एनआईसी एशिया बैंक लि.०.१४०३०.१५६७-१०.४७%
कुल नाफा४९.२११८४१.२५०४१९.३०%
Q3 को औसत नाफा२.४६०५९२.०६२५२१९.३०%

नाफा बढ्नुका पछाडि के कारण?

हालको बैंकिङ परिदृश्यमा बैंकहरूको नाफा सुधार हुनुमा मुख्यतया तीनवटा पक्षहरू जिम्मेवार देखिएका छन्। पहिलो र सबैभन्दा महत्वपूर्ण पक्ष नेपाल राष्ट्र बैंकको लचिलो नीति हो; जसअन्तर्गत बैंकहरूको कमजोर वित्तीय अवस्थालाई ध्यानमा राख्दै कर्जा पुनरसंरचनाको अनुमति दिइएको थियो।

यसबाट बैंकहरूले आफ्नो कर्जाको जोखिम तौल घटाउन र नियामकीय प्रावधानअनुसार आरक्षित कोषमा राख्नुपर्ने अत्यधिक रकममा राहत पाएका छन्। 

राष्ट्र बैंकले असल कर्जामा लाग्ने ऋण हानि प्रावधानलाई घटाएर एक प्रतिशत कायम गर्नुका साथै धितो लिलामीको प्रक्रिया सुरु भएका कर्जालाई खराब कर्जामा गणना नगर्ने व्यवस्था गरिदिएपछि यसको प्रत्यक्ष सकारात्मक प्रभाव बैंकहरूको ब्यालेन्स सिटमा देखिएको छ।

यसैगरी, बैंकहरूको नाफा बढ्नुमा गैर-ब्याज आम्दानीको पनि ठूलो भूमिका छ। पछिल्लो समय कमिसन र विभिन्न बैंकिङ शुल्कहरूबाट हुने आम्दानीमा उल्लेख्य सुधार आएको छ, जसले समग्र नाफालाई थप बल पुर्‍याएको छ। 

साथै, ब्याज स्प्रेड रेटमा आएको कमीले पनि बैंकहरूको वित्तीय स्थितिलाई थप सन्तुलित र सुदृढ बनाउन मद्दत पुर्‍याएको देखिन्छ। यी विविध नीतिगत र प्रक्रियागत सुधारका कारण बैंकहरूले विषम परिस्थितिमा पनि आफ्नो नाफालाई जोगाउन र वृद्धि गर्न सफल भएका हुन्।

निष्कर्ष

यस त्रैमासको बैंकिङ्ग विवरणले समग्र वित्तीय प्रणाली सुधारको दिशामा अघि बढेको पुष्टि गरेको छ। १९.३० प्रतिशतको नाफा वृद्धिले लगानीकर्ता र निक्षेपकर्तामा सकारात्मक सन्देश दिएको छ। विशेषगरी कुमारी, नबिल, राष्ट्रिय वाणिज्य र माछापुच्छ्रे जस्ता बैंकहरूको प्रदर्शनले बजार चलायमान रहेको देखाउँछ।

यद्यपि, ७ वटा बैंकमा देखिएको ठूलो गिरावटले चुनौती अझै सकिएको छैन भन्ने स्पष्ट पार्छ। खराब कर्जा (NPL) को व्यवस्थापन, बढ्दो प्रोभिजनिङ, कर्जा असुली र वितरणयोग्य नाफाको अवस्था बैंकहरूका लागि अझै पनि मुख्य चुनौतीका रूपमा रहेका छन्।

तर सकारात्मक पक्ष के छ भने, राष्ट्र बैंकको लचिलो नीतिले बैंकिङ क्षेत्रलाई सहयोग गरिरहेको छ र धेरै बैंकहरू सम्पत्ति गुणस्तर व्यवस्थापन र कर्जा असुलीमा सफल भइरहेका छन्। आगामी दिनमा कर्जा असुली र संचित घाटा व्यवस्थापनमा आउने सुधारले नै बैंकहरूको दिगो विकासको दिशा तय गर्नेछ।