केही वर्षयता, कोही नातागोता विदेशमा काम गर्न वा उच्च शिक्षा हासिल गर्न नगएको नेपाली परिवार कमै छन्। त्यसैले जब विदेशबाट पैसा पठाउने कुरा आउँछ, तब विदेशिएका नेपाली वा उनीहरूका आफन्तहरूमध्ये धेरैले हुण्डीबारे सुनेका छन् — धेरैले चलाएका छन्, धेरैले चलाउन सुझाव पाएका पनि छन्।
तर के तपाईलाई थाहा छ सजिलो र फाइदाजनक लाग्ने यो तरिका "हुण्डी" गैरकानुनी र जोखिमपूर्ण हो?
विदेशमा पसिना बगाएर कमाएको पैसाले धेरै नेपाली परिवारको भविष्य उज्यालो बनाइरहेको छ र राष्ट्रको अर्थतन्त्रमा ठूलो योगदान दिइरहेको छ। तर त्यही पैसा गैरकानुनी च्यानलबाट पठाउनु भनेको, आफ्नो कमाइ मात्र नभई, देशकै अर्थतन्त्रलाई पनि जोखिममा पार्नु हो।
हुण्डी भनेको विदेशमा कमाएको पैसा पठाउने एउटा अवैध र गैरकानुनी तरिका हो। यसमा बैंक वा रेमिटेन्स कम्पनीजस्ता औपचारिक माध्यमको सट्टा निजी व्यापारी, एजेन्ट वा दर्ता नभएका एजेन्सीहरू प्रयोग गरेर पैसा कानुनी प्रक्रिया नअपनाई, सिधै एक देशबाट अर्को देशमा पठाइन्छ।
उदाहरणका लागि, मलेसियाबाट नेपालमा हुण्डी मार्फत पैसा पठाउन नेपाली श्रमिकले आफ्नो पैसा मलेसियामै रहेको एजेण्टलाई दिन्छ। त्यसपछि सो एजेण्टले आफ्नो नेटवर्कमार्फत नेपालमा रहेको एजेण्टलाई खबर गरिदिन्छ र त्यही नेपाली हुण्डी एजेण्टले सम्बन्धित व्यक्तिलाई पैसा उपलब्ध गराउँछ।
यसो गर्दा कुनै पनि किसिमको आधिकारिक कागजात वा रेकर्ड हुँदैन। हेर्दा कम समय, थोरै मात्रै पैसा तिर्नु पर्ने र केहि पनि झन्झट नभएको देखिने कारणले कतिपयले यो माध्यम रोज्ने गरेका छन्।
हुण्डी पैसा पठाउने आधिकारिक माध्यम नभयका कारण यो केवल विश्वासको आधारमा मात्रै चल्छ। पैसा एजेण्टलाई दिसकेपछि पुग्छ पुग्दैन सबै एजेन्टको भरमा हुन्छ। केहि एजेन्टहरुले तपाईको भरोसा जित्न सुरु सुरुमा फटाफट पैसा पठाएर, पछि ठग्ने र बेपत्ता हुने केसहरू धेरै छन्।
हुण्डी गर्ने एजेन्ट, व्यक्ति वा कम्पनी सरकारबाट अनुमति प्राप्त हुँदैनन्, त्यसैले उनीहरूमाथि कुनै निगरानी पनि हुँदैन। यस्तो अवस्थामा उनीहरूलाई पूर्ण रूपमा भरपर्दो ठान्न सकिँदैन। कुन दिन पैसा लिएर सम्पर्कविहीन भएमा तपाईंको गुनासो सुनिदिने न त कानुनी निकाय हुन्छ, न कसैले क्षतिपूर्ति नै दिन्छ।
बैंक वा आधिकारिक रेमिट कम्पनीबाट पैसा पठाउँदा तपाईंले ट्र्याकिङ नम्बर पाउनुहुन्छ, जुनमार्फत पैसा कहाँ पुग्यो हेर्न सकिन्छ। तर हुण्डीमा त्यस्तो कुनै सुविधा हुँदैन। न रसीद हुन्छ, न पैसा कति दिनमा पुग्छ, कसले राख्दिन्छ, वा हरायो भने के गर्ने — केही स्पष्ट हुँदैन।
हुण्डी कारोबार नेपालमा मात्र होइन, भारत, बंगलादेश, अमेरिका, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, र युके जस्ता धेरै देशहरूमा पनि गैरकानुनी मानिन्छ। त्यसैले, केवल हुण्डी चलाउने एजेन्ट मात्र होइन, सेवाग्राही (पैसा पठाउने वा लिने व्यक्ति) पनि कानुनी रूपमा मुद्रा अपचलनको आरोपमा कडा सजायका भागिदार ठहरिन्छ।
केहि समय अघि करिब २ खर्ब ८४ अर्ब रुपैयाँ भन्दा बढी हुण्डी कारोबार गरेको अभियोगमा पाँच जना पक्राउ परेका थिए, जसमध्ये चार जनालाई जेल चलान गरिएको थियो।
हुण्डीमार्फत पैसा पठाउनु भयो, र त्यो सजिलै घर पनि पुग्यो होला। तर भविष्यमा तपाईंलाई कुनै बैंकबाट शिक्षा कर्जा, घर कर्जा वा अन्य कुनै वित्तीय सेवा चाहियो भने बैंकले तपाईंबाट आम्दानीको स्रोत माग्छ। त्यसबेलामा हुण्डीमार्फत आएको पैसाको हिसाब देखाउन न त कागज हुन्छ, न प्रमाण। नतिजा — बैंकले तपाईंलाई कर्जा दिन असमर्थ हुन्छ।
साथै यस्तो रकम बैंक वा सरकारी निकायमा देखिएमा स्पष्टीकरण दिनुपर्ने हुन्छ र अझ ठूला-ठुला कारोबारमा अनुसन्धानको जोखिम पनि हुन्छ।
हुण्डी एजेन्टले तपाईंको नाम, ठेगाना, फोन नम्बरजस्ता व्यक्तिगत विवरण माग्छ। यस्तोमा तपाईंका निजी विवरणहरू गलत हातमा पर्यो भने, फर्जी कागजात बनाउनेदेखि ठगी र अन्य आपराधिक काममा समेत दुरुपयोग हुन सक्छ।
हुण्डी मार्फत पैसा पठाउँदा सस्तो पर्ने, धेरै विनिमय दर हुने, कार्यथलोमै लिन आउने र घरमै पुर्याईदिने जस्ता लोभलाग्दो कुराहरू भए तापनि — यसमा लुकाइएको मूल्य भने निकै ठूलो हुन्छ। त्यसैले, आफ्नो पसिनाको कमाईलाई कुनै पनि किसिमको जोखिममा नपार्न, सुरक्षित र औपचारिक माध्यमबाट मात्रै पैसा पठाउनु पर्दछ।
र त्यो सुरक्षित विकल्प हो — बैंकमार्फत रेमिट्यान्स। आजभोलि विदेशबाट सिधै आफ्ना परिवारको नाममा रेमिट्यान्स सेवामार्फत बैंक खातामा रकम पठाउन सकिन्छ, जुन केवल सजिलो मात्र होइन, कानुनी रूपमा सुरक्षित पनि हुन्छ। अझ फाइदाको कुरा, रेमिट्यान्स खातामा आएको रकममा बैंकले अन्य साधारण खाताको तुलनामा बढी ब्याज, बीमा सुविधा, र अन्य विभिन्न निःशुल्क सेवाहरू प्रदान गर्छ।
साथै, अहिले अनलाइन बैंकिङ सुविधाका कारण, बैंकिङ माध्यमबाट पैसा पठाउने काम पहिले जस्तो झन्झटिलो पनि छैन। अब त आफ्नै मोबाइल फोनबाटै जुनसुकै देशबाट सजिलै नेपालमा रहेको बैंक खातामा पैसा पठाउन सकिन्छ।
हुण्डी सस्तो लाग्ला, तर जोखिम निकै महँगो पर्न सक्छ। पैसा हरायो भने न एजेण्ट भेटिन्छ, न प्रमाण देखाउन कागजात। उल्टो, सजाय र पछुतो थपिन्छ। त्यसैले, बैंकिङ माध्यमको प्रयोग गर्नुहोस्। पहिलेको जस्तो झन्झटिलो प्रक्रियाहरू अब सहज बनेका छन्, र त्यसका साथमा १० प्रतिशत IPO, उच्च ब्याजदर र बीमा सुरक्षा जस्ता थप लाभ पनि पाइन्छ।
पसिनाको कमाइ हो — चलाखी गरेर सुरक्षित बाटो रोजौं। हुण्डी हैन, बैंक। गफ हैन, प्रमाण।
Sign up to discover Saral Banking Sewa