नेपाल सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ देशको अर्थतन्त्रको ‘हेल्थ रिपोर्ट’ मात्र होइन, यो तपाईं-हाम्रो बदलिँदो वित्तीय बानीको ऐना पनि हो।
यो कुनै नयाँ नियम वा नीति घोषणा गर्ने दस्तावेज भने होइन। बरु, अहिलेको चालु आर्थिक वर्षभरि नेपालीहरूको बैंकिङ बानी, ऋणको अवस्था, डिजिटल भुक्तानी, बचत, लगानी र आर्थिक गतिविधि कता गइरहेको छ भन्ने वास्तविक तस्बिर हो।
तथ्याङ्कहरू धेरै छन्, तर तीमध्ये केही संकेतहरू भने तपाईंको दैनिक आर्थिक निर्णयसँग प्रत्यक्ष जोडिएका छन्।
हरेक वर्ष सरकारले नयाँ बजेट सार्वजनिक गर्नुअघि “आर्थिक सर्वेक्षण” जारी गर्छ। सरल भाषामा भन्नुपर्दा, यो देशको अर्थतन्त्रको वार्षिक रिपोर्ट कार्ड हो, जसले बितेको आर्थिक वर्षमा नेपालको आर्थिक अवस्था कस्तो रह्यो भन्ने समग्र तस्वीर प्रस्तुत गर्छ।
आर्थिक सर्वेक्षणमा व्यापार, बैंकिङ, रोजगारी, कृषि, उद्योग, लगानी, राजस्व संकलन, डिजिटल कारोबार लगायत विभिन्न आर्थिक क्षेत्रसँग सम्बन्धित तथ्याङ्क र विश्लेषण समावेश हुन्छन्। यसले अर्थतन्त्र कुन दिशातर्फ अघि बढिरहेको छ, कुन क्षेत्रमा सुधार भइरहेको छ र कहाँ चुनौतीहरू देखिएका छन् भन्ने बुझ्न मद्दत गर्छ।
सामान्य नागरिकका लागि आर्थिक सर्वेक्षण केवल सरकारी दस्तावेज मात्र होइन। यसमा समेटिएका धेरै संकेतहरू प्रत्यक्ष रूपमा दैनिक वित्तीय जीवनसँग जोडिएका हुन्छन्। उदाहरणका लागि, ब्याजदरको अवस्था, ऋण प्रवाह, बचतको प्रवृत्ति, डिजिटल भुक्तानीको प्रयोग वा लगानीको वातावरणजस्ता विषयहरूले तपाईंको व्यक्तिगत आर्थिक निर्णयलाई असर गर्न सक्छन्।
त्यसैले आर्थिक सर्वेक्षणमा भएका सबै तथ्याङ्क सबैका लागि समान रूपमा महत्वपूर्ण नदेखिए पनि, केही मुख्य संकेतहरू भने हरेक व्यक्तिले बुझ्नुपर्ने खालका हुन्छन्।
कुनै बेला बैंक खाता खोल्न वा पैसा झिक्न सदरमुकाम धाउनुपर्ने बाध्यता अब इतिहास बन्दैछ। आर्थिक सर्वेक्षणले देखाउँछ कि बैंकिङ पहुँच गाउँ-गाउँसम्म विस्तार भएको छ। अहिले देशभर १०६ वटा बैंक तथा वित्तीय संस्थाहरू सक्रिय छन् र औसतमा हरेक २,५४४ जनाका लागि एउटा बैंक शाखा उपलब्ध छ।
यसको अर्थ हो, अब वित्तीय सेवा शहर केन्द्रित रहेन। ६ करोडभन्दा बढी बचत खाता (एउटै व्यक्तिका धेरै खातासहित) हुनुले पनि वित्तीय समावेशीकरण बढिरहेको स्पष्ट पार्छ। गाउँको सानो उद्यमी होस् वा स्थानीय किसान, सबैको पहुँचमा बैंक पुग्नु अर्थतन्त्रका लागि सकारात्मक संकेत हो।
"Cash छैन, QR स्क्यान गर्नुस् न।" शहरको कफी शपदेखि गाउँको किराना पसलसम्म यो संवाद सामान्य भइसकेको छ। आर्थिक सर्वेक्षणले यही डिजिटल क्रान्तिलाई तथ्याङ्कमा पुष्टि गरेको छ।
अहिले मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या झन्डै २ करोड ९४ लाख पुगेको छ। अझ रोचक त, गत फागुन महिनामा मात्रै QR मार्फत रु. १ खर्ब २५ अर्बभन्दा बढीको कारोबार भयो।
यसले के देखाउँछ भने नेपालीहरू नगद बोक्ने झन्झटबाट मुक्त हुँदै साना-ठूला सबै भुक्तानीका लागि डिजिटल माध्यममा अभ्यस्त भइरहेका छन्। यसले कारोबारलाई पारदर्शी र सुरक्षित बनाउन मद्दत गरेको छ।
गत वर्षको तुलनामा अहिले बैंकहरूमा लगानीयोग्य रकम (तरलता) बढेको छ, जसको सीधा असर ऋणको ब्याजदरमा देखिएको छ। बैंकहरू ग्राहक आकर्षित गर्न नयाँ-नयाँ योजनासहित प्रतिस्पर्धामा छन्, जसले गर्दा ऋण ‘सस्तो’ भएको छ।
अहिले वाणिज्य बैंकहरूको औसत बेस रेट घटेर करिब ५.१०% मा र औसत कर्जाको ब्याजदर करिब ६.९०% मा झरेको छ। घर कर्जा, गाडी कर्जा वा अन्य व्यक्तिगत ऋण लिने योजनामा हुनुहुन्छ भने यो उपयुक्त समय हुनसक्छ।
तर, एउटा कुरामा सचेत रहनुहोस्: सस्तो ब्याजदरको लोभमा परेर अनावश्यक ऋण लिनु बुद्धिमानी होइन। ऋण लिनुअघि आफ्नो आम्दानी, तिर्न सक्ने क्षमता (EMI) र भविष्यको आर्थिक योजनाको मूल्यांकन गर्न कहिल्यै नबिर्सनुहोस्।
ऋण लिनेहरूलाई ब्याजदर घट्दा जति राहत मिलेको छ, बैंकमा पैसा बचत गर्नेहरूका लागि भने यो त्यति सुखद समय होइन। ऋणको ब्याजदर घट्दा बैंकहरूले निक्षेप, विशेषगरी मुद्दती खाता (Fixed Deposit) र बचत खाताको ब्याजदर पनि घटाएका छन्।
यसको अर्थ हो, यदि तपाईंको आम्दानीको मुख्य स्रोत बचतको ब्याज हो भने तपाईंको प्रतिफल (Return) पहिलेभन्दा कम हुनेछ। अहिलेको अवस्थाले बचतकर्ताहरूलाई आफ्नो पैसा बैंकमा मात्र थन्क्याउनुको साटो अन्य लगानीका विकल्प खोज्न प्रेरित गरिरहेको छ।
एक समय थियो, जब पैसा सुरक्षित राख्नु भनेको घरमा वा बैंकको बचत खातामा जम्मा गर्नु मात्रै बुझिन्थ्यो। तर, अब नेपालीहरू पैसा ‘बचाउने’ मात्र होइन, ‘बढाउने’ सोचतर्फ अघि बढेका छन्।
यसको सबैभन्दा ठूलो प्रमाण डिम्याट (DMAT) खाताको संख्या हो, जुन करिब ७६ लाख पुगेको छ। यसको मतलब, औसतमा हरेक ४ जना नेपालीमध्ये १ जना सेयर बजार वा लगानीको संसारसँग जोडिएका छन्।
मानिसहरू सेयर, IPO, म्युचुअल फन्ड जस्ता लगानीका उपकरणबारे सचेत हुँदैछन्। यसका साथै, १८% जनसंख्या जीवन बीमाको दायरामा आउनुले पनि भविष्यको आर्थिक सुरक्षाप्रतिको बढ्दो जागरुकतालाई संकेत गर्छ।
आर्थिक सर्वेक्षण २०८२/८३ ले देखाएको चित्र स्पष्ट छ: नेपालको वित्तीय परिदृश्य तीव्र गतिमा बदलिरहेको छ। बैंकिङ पहुँच गाउँसम्म पुग्दैछ, नगदको ठाउँ डिजिटल भुक्तानीले लिँदैछ, र मानिसहरू बचतकर्ताबाट लगानीकर्तामा रूपान्तरण हुँदैछन्।
अर्थतन्त्रका यी ठूला तथ्याङ्कहरू अन्ततः तपाईंको EMI, बचतको ब्याज, लगानीको प्रतिफल र दैनिक आर्थिक निर्णयमै आएर ठोक्किन्छन्। त्यसैले, आर्थिक समाचारलाई केवल ‘सरकारको कुरा’ नठान्नुहोस्, यो तपाईंको व्यक्तिगत वित्तीय स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो।




Sign up to discover Saral Banking Sewa