Customer calculating loan interest rates in Nepal, reflecting the impact of fluctuating interest rates on personal finance and borrowing costs.
31 Mar, 2025

बैंकको ऋण ब्याजदर लिँदा सस्तो, पछि महँगो! किन?

पछिल्लो समयमा बैंकहरूको आधार दर घटेर ५ प्रतिशतसम्म झरेको छ, जसले गर्दा कर्जा तथा ऋणहरूको ब्याजदर पनि घटेर केही बैंकहरूमा १० प्रतिशतभन्दा कम भएको छ। 

अहिले सस्तो ब्याजदरमा ऋण लिन चाहने सबैका लागि यो राम्रो समय भए पनि, धेरै सर्वसाधारणको मनमा एउटै चिन्ता रहेको छ— "विगतका दिनहरूझैँ सस्तोमा लिएको ऋण पछि महँगो पो हुने हो कि? १० प्रतिशत ब्याजदर बढेर १५ प्रतिशत भई, ब्याज नै तिर्न नसक्ने त हैन??"

यसो हुनुका पछाडि बैंकहरूले अपनाउने दुई प्रकारका ब्याजदर— Fixed (फिक्स/मुद्दती) र Floating (फ्लोटिङ) दर—को महत्त्वपूर्ण भूमिका हुन्छन्। धेरैलाई यसको बारेमा प्रष्ट जानकारी नभएर, पछि ब्याजदर बढ्दा बैंकले ‘ठग्यो’ जस्तो महसुस हुनु पनि स्वभाविक हो।

तर वास्तवमा भन्नु पर्दा, ऋण लिने बेलामा नै बैंकहरूले स्पष्ट रूपमा उल्लेख गरेका हुन्छन् कि फ्लोटिङ ब्याजदर घट्न पनि सक्छ, बढ्न पनि सक्छ। तर, प्रायः जसो सर्वसाधारणहरू सस्तो ब्याजदरमा मात्रै आकर्षित भएर भविष्यमा हुनसक्ने जोखिमलाई नजरअन्दाज गर्छन्।

त्यसैले फिक्स र फ्लोटिङ ब्याजदरबीचको भिन्नता के हो, र किन बैंकहरूले ब्याजदर समयसँगै परिवर्तन गर्छन्—यिनै विषयमा आज चर्चा गरौँ।

Chart comparing lowest interest rates on loans and deposits in Nepal, showing trends influenced by Nepal Rastra Bank's monetary policy

फिक्स र फ्लोटिङ ब्याजदरबीचको भिन्नता के हो?

नेपालका सबै बैंकहरूले प्रदान गर्ने वित्तीय कर्जा तथा सेवाहरूमा दुई किसिमका ब्याजदर कायम गरिएको हुन्छ: फिक्स (Fixed) र फ्लोटिङ (Floating) ब्याजदर। फ्लोटिङ र फिक्स ब्याजदर दुबैका आफ्नै निश्चित फाइदाहरू र बेफाइदाहरू छन्, त्यसैले तपाईँले ऋण लिनु अघि कुन ब्याजदर प्रणाली उपयुक्त हुन्छ भनेर राम्ररी बुझ्न जरुरी छ।

१. फिक्स ब्याजदर

यदि तपाईले फिक्स ब्याजदरमा कुनै ऋण लिँदै हुनुहुन्छ भने, ऋण लिँदाको समयमा तोकिएको ब्याजदर सम्पूर्ण ऋण अवधिभर उस्तै रहन्छ। जस्तै, १०% फिक्स ब्याजदरमा लिएको ऋण, बजारको ब्याजदर ८% झरोस् वा १२% बढोस्, १०% ब्याजदर नै रहन्छ।

बजारमा आउने आर्थिक उतार-चढावले यस किसिमको ब्याजदरमा कुनै असर पार्दैन। यसै कारणले, वित्तीय बजारमा ब्याजदर बढे पनि तपाईले तिर्ने ब्याजदरमा कुनै वृद्धि हुँदैन र ब्याजदर घट्दा पनि तपाईको ब्याजदरमा कुनै परिवर्तन हुँदैन।

तर फ्लोटिङ ब्याजदरको तुलनामा फिक्स ब्याजदर सामान्यतया धेरै हुने गर्दछ। उदाहरणको लागि, एभरेष्ट बैंक लिमिटेडले आफ्नो होम लोन (Home Loan) कर्जामा ९ प्रतिशत फिक्स ब्याजदर र ६.४६ प्रतिशत देखि ८.४६ प्रतिशत फ्लोटिङ ब्याजदर रहेको छ। अन्य बैंकहरूले विभिन्न किसिमका कर्जामा के कति फिक्स ब्याजदर राखेका छन्, बुझ्नको लागि सरल बैंकिङ सेवाको कर्जा तुलना पेजमा हेर्न सक्नुहुन्छ।

२. फ्लोटिङ ब्याजदर

त्यसैगरी फ्लोटिङ ब्याजदर भनेको बैंकको आधार दरमा आउने परिवर्तनको आधारमा ऋणको अवधि भरि ब्याजदर पनि परिवर्तन हुने ब्याजदर हो। 

आधार दर अर्थात् बेस रेट भनेको बैंक वा वित्तीय संस्थाले ग्राहकहरुलाई ऋण दिने क्रममा लागू गर्ने न्यूनतम ब्याजदर हो। हरेक महिना बैंकहरूले आफ्नो सञ्चालन खर्च र नाफा सहित आधार दर निर्धारण गर्छन्। त्यसैले बजारको अवस्था हेरी, आधार दर परिवर्तन हुने र सोही कारण ऋणको ब्याजदर पनि घटबड हुने गर्दछ।

त्यसैले यदि तपाईले बैंकबाट ऋण फ्लोटिङ ब्याजदर अनुसार लिनु भएको छ भने अहिले ब्याजदर कम भएता पनि आगामी दिनहरूमा बढ्न वा घट्न सक्ने हुन्छ। त्यसैले, ब्याजदर घटबढ हुने जोखिम लिन चाहनु हुन्न भने बढी भएता पनि फिक्स ब्याजदर नै उत्तम हुन्छ।

विषयफिक्स ब्याजदरफ्लोटिङ ब्याजदर
परिभाषाब्याजदर ऋण लिँदाको समयमा तय गरिन्छ र सम्पूर्ण अवधिभर उस्तै रहन्छ।ब्याजदर बजारको उतारचढाव अनुसार परिवर्तन हुन्छ।
EMI स्थिरतामासिक किस्ता स्थिर रहन्छ।मासिक किस्ता अस्थिर रहन्छ, ब्याजदर बढ्न वा घट्न सक्छ।
बजारको प्रभावबजार उतारचढावको असर पर्दैन।बजार ब्याजदरका उतारचढावले यसलाई प्रभावित गर्न सक्छ।
ब्याजदर परिवर्तनको असरब्याजदर बढ्दा पनि तपाईँको ब्याज दरमा कुनै परिवर्तन हुँदैन।यदि बजारमा ब्याजदर बढ्यो भने तपाईँको ब्याजदर बढ्न सक्छ।
सुरु ब्याजदरशुरुमा उच्च ब्याजदर हुन सक्छ।शुरुमा कम ब्याजदर हुन सक्छ।
पूर्वानुमान क्षमताब्याजदर निश्चित हुन्छ, त्यसैले कुल ब्याज रकम पनि पूर्वानुमान गर्न सजिलो हुन्छ।ब्याजदर घट्ने वा बढ्ने सम्भावना हुन्छ, त्यसैले अनिश्चितता हुन्छ।

किन बैंकहरूले ब्याजदर समयसँगै परिवर्तन गर्छन्?

जब ब्याजदर अचानक बढ्छ र कर्जाको किस्ता महँगो हुन थाल्छ, धेरैको मनमा बैंकले फसाउने, ठग्ने चाल रचेको हो जस्ता कुराहरू आइरहेका हुन्छन्। तर बैंकले कर्जाको ब्याजदर समयसँगै परिवर्तन गर्नु पछाडि पनि केही प्रमुख कारणहरू हुन्छन्।

  • नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिहरू

नेपाल राष्ट्र बैंकले विभिन्न मौद्रिक नीतिगत ब्याजदर (Policy Rates) र तरलता व्यवस्थापन (Liquidity Management) गर्नका लागि विभिन्न किसिमका नियमहरू लागू गर्दछ। सोहि नियमहरुलाई कार्यान्वयन गर्न  बैंकहरूले पनि आफ्नो ब्याजदर समायोजन वा परिवर्तन गर्नु पर्ने हुन्छ। 

  • बजारमा पूँजीको माग

बजारमा पूँजीको माग भनेको व्यापार, सरकार, वा व्यक्तिहरूले लगानी र कर्जाका लागि आवश्यक पर्ने रकम हो। जब पूँजीको माग बढ्छ, बैंकहरूले ब्याजदर बढाउँछन्, र जब माग घट्छ, ब्याजदर सस्तो हुने गर्दछ। 

  • बैंकको नाफा र सञ्चालन खर्च

बैंकको सञ्चालन खर्च र नाफाले प्रत्यक्ष रूपमा कर्जा तथा वित्तीय सेवाहरूको ब्याजदरमा असर पार्दछ। यदि बैंकको सञ्चालन खर्च (कर्मचारी तलब, प्रविधि, भाडा आदि) बढ्यो भने, नाफा जोगाउनका लागि बैंकहरूले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको दायराभित्र रही कर्जाको ब्याजदर बढाउन र निक्षेपमा घटाउन सक्छन्।

  • मुद्रास्फीति (Inflation)

जब मुद्रास्फीति बढ्छ, वस्तु र सेवाहरूको मूल्य पनि बढ्न थाल्छ। बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्न राष्ट्र बैंकले बजारमा पैसाको मूल्य र महँगाईलाई नियन्त्रणमा राख्न ब्याजदर बढाउँछ। उच्च ब्याजदरले कर्जा लिने खर्च बढाउँछ, जसले उपभोक्ता र व्यवसायहरूको खर्च घटाउँछ र यसरी मुद्रास्फीति घटाउन मद्दत पुग्छ।

Stack of coins and loan documents representing the effect of interest rate fluctuations on loans and banking in Nepal

निष्कर्ष

कर्जा लिँदा ब्याजदरको परिवर्तन मुख्यतया बैंकको ब्याजदरको संरचनामा निर्भर गर्दछ। यदि तपाईले फिक्स ब्याजदरमा ऋण लिनु भयो भने, भविष्यमा ब्याजदरमा कुनै पनि किसिमको परिवर्तन आउँदैन, जसले तपाईलाई ब्याजमा स्थिरता र निश्चितता प्रदान गर्छ।

तर, फिक्स ब्याजदरभन्दा सामान्यतया सस्तो हुने फ्लोटिङ ब्याजदरमा कर्जा लिदा ब्याजदर समयसँगै घटबढ हुन सक्छ, जसले जोखिमको साथसाथै नाफा हुन सक्ने सम्भावना पनि ल्याउँछ।

यसकारण, कर्जा लिनु अघि तपाईको आवश्यकता र वित्तीय स्थायित्वलाई ध्यानमा राख्दै उपयुक्त ब्याजदर किसिममा वित्तीय ऋण लिनु अत्यन्त महत्वपूर्ण हुन्छ। यसका साथै, बैंकको ब्याजदर विभिन्न कारणहरूले परिवर्तन हुने हुदा, फ्लोटिङ ब्याजदरमा ऋण लिनु अघि सबै पक्षहरूलाई भरपर्दो स्रोतहरू जस्तै सरल बैंकिङ सेवाबाट राम्ररी बुझेर मात्रै निर्णय गर्नु नै स्मार्ट वित्तीय कदम हुन्छ।