Banner image with the text "renting your bank account is a one way ticket to illegal crime case" and the logo of Saral Banking Sewa
02 Dec, 2025

सानो लोभले अपराधमा नफसौँ: आफ्नो बैंक खाता अरूलाई प्रयोग गर्न दिनु ठूलो जोखिम हो!

नेपालमा सामाजिक सन्जालको लोकप्रियता बढे सँगै छिटो र सजिलै पैसा कमाउने प्रलोभनहरुपनि चारैतिर बढेका छन्। विगतमा अनलाइन विज्ञापन वा व्यक्तिगत अनुरोधको माध्यमबाट तपाईंलाई आफ्नो बैंक खाता, वालेटको विवरण वा ATM कार्ड 'भाडामा दिन' वा 'प्रयोग गर्न' आग्रह गर्ने केसहरु ह्वात्तै बढेका छन्। 

उनीहरू तपाईंलाई केही हजार रुपैयाँको लोभ देखाउँछन् र तपाईलाई आश्वाशन पनि दिन्छन् कि यो केवल एक सामान्य व्यापारिक लेनदेनको लागि मात्र हो। तर यो सानो लोभ तपाईंको जीवनको सबैभन्दा ठूलो कानुनी पासो बन्न सक्छ। 

तपाईंले अरूलाई प्रयोग गर्न दिनु भएको आफ्नो खाता वास्तवमा ठगी, भ्रष्टाचार, साइबर अपराधजस्ता अवैध गतिविधिहरूबाट आएको कालो धन (Black Money) ओसारपसार गर्ने माध्यम बन्छ। तपाईले थाहा नपाउदै, तपाईं सम्पत्ति शुद्धीकरण (Money Laundering) जस्तो जघन्य अपराधमा संलग्न भइ मनी म्युल भइसक्नुभएको हुन्छ।

नेपालमा यस्ता केसहरू धेरै बढेका छन्, जहाँ खातावाला आफै अनविज्ञ भए पनि मनी म्युल बन्न पुगी लाखौँको जरिवाना र जेल सजायको जोखिममा परेका छन्। त्यसैले यस ब्लग पोस्टमा आफ्नो बैंक खाता कसरी अवैध कारोबारको माध्यम बन्छ र आफ्नो वित्तीय भविष्यलाई सुरक्षित राख्न जोगिने सरल उपायहरू बारे स्पष्ट पार्नेछौँ।

मनी म्युल (Money Mule) भनेको के हो?

मनी म्युल भनेको कुनै व्यक्तिले आफ्नो बैंक खाता वा वालेट खाता अरू व्यक्तिहरूलाई अपराधका लागि प्रयोग गर्न दिनु हो जसबाट अपराधीहरूले अवैध तरिकाले कमाएको रकम (कालो धन) लाई तपाईंको खातामार्फत जम्मा गर्ने, अरूको खातामा रकमान्तर गर्ने वा नगदमा झिक्ने काम गर्छन्। 

अपराधीहरूले तपाईंको खातालाई निम्न किसिमका अपराधबाट आएको पैसा लुकाउन प्रयोग गर्छन्:

  • साइबर ठगी (Cyber Scams: TikTok, Facebook Scams)
  • अनलाइन जागिरको बहानामा गरिने ठगी
  • मानव वा लागुऔषध तस्करी
  • भ्रष्टाचार

कसरी फसाइन्छ?

अपराधीहरूले तपाईंको बैंक खाता अवैध कारोबारमा प्रयोग गर्नका लागि विशेष गरी आर्थिक दबाबमा परेका वा 'सजिलो पैसा' को खोजीमा रहेका मानिसहरूलाई विभिन्न माध्यमबाट सम्पर्क गर्छन्। 

(१) पैसाको प्रलोभन: तपाईंलाई मासिक ५,००० देखि २०,००० रुपैयाँसम्म दिने वा प्रत्येक कारोबारको निश्चित प्रतिशत कमिसन दिने प्रलोभन देखाइन्छ। यसको बदलामा आफ्नो ATM कार्ड, PIN नम्बर, मोबाइल बैंकिङको पहुँच, र कहिलेकाहीँ त SIM कार्डसमेत दिनुपर्ने हुन्छ। यसरी, तपाईंको खातामा के भइरहेको छ भन्ने कुरा तपाईंलाई केही थाहा हुँदैन।

(२) झूटो विज्ञापन र अनलाइन जाल: 'घरबाटै काम गर्नुहोस्', 'विदेशी भुक्तानी एजेन्ट' जस्ता आकर्षक तर झूटो जागिरको विज्ञापनहरू वा अनलाइन भेटिएका अपरिचित व्यक्तिहरूले भावनात्मक दबाब दिएर खाता प्रयोग गर्न माग्छन्।

आफ्नो बैंक खाता अरूलाई प्रयोग गर्न दिँदा हुने गम्भीर परिणामहरू

थोरै पैसाको प्रलोभनमा आफ्नो खाताको नियन्त्रण अरूलाई सुम्पिनु भनेको आफ्नो भविष्यलाई ठूलो कानुनी र वित्तीय जोखिममा धकेल्नु हो। यस कार्यको परिणाम तपाईंको कल्पनाभन्दा कयौं गुणा भयानक हुन सक्छ।

  • सम्पत्ति शुद्धीकरणको अभियोग: तपाईंको खाता अवैध पैसा सार्ने माध्यम बन्ने बित्तिकै तपाईं सम्पत्ति शुद्धीकरण (Asset Laundering) जस्तो गम्भीर अपराधमा संलग्न ठहरिनुहुन्छ।
  • अत्यधिक जरिवाना र कैद: तपाईंले कमिसन लिएको रकम होइन, तर कारोबार भएको कुल अवैध रकमको दोब्बरसम्म जरिवाना२ देखि १५ वर्षसम्म कैद सजाय हुन सक्छ।
  • खाता रोक्का र कालोसूची: अनुसन्धानको क्रममा तपाईंको सबै बैंक खाताहरू रोक्का (Freeze) हुन्छन्। वित्तीय अपराधमा संलग्न भएमा तपाईंलाई बैंकिङ प्रणालीबाट कालोसूची (Blacklist) मा राखिन्छ।
  • भविष्यमा असर: आपराधिक रेकर्डका कारण जागिर, उच्च शिक्षा र विदेश यात्रा (भिसा) मा तपाईंलाई आजीवन समस्या आइरहन्छ।

आफ्नो सुरक्षा आफैँ गर्नुहोस्: मनी म्युल बन्नबाट जोगिने सरल उपायहरू

कानुनी पासोमा पर्नबाट बच्नका लागि, आफ्नो बैंक खातालाई सधैँ व्यक्तिगत र गोप्य राख्नु अपरिहार्य छ। निम्न सरल उपायहरू अपनाएर आफ्नो वित्तीय भविष्य सुरक्षित गर्नुहोस्:

१. खाताको गोपनियता कायम गर्नुहोस्

आफ्नो ATM कार्ड, PIN नम्बर, इन्टरनेट बैंकिङको पासवर्ड वा OTP (One-Time Password) कोड कहिल्यै कसैलाई पनि नदिनुहोस्। तपाईंको बैंक खाता तपाईंको नाममा छ, यसको पूर्ण जिम्मेवारी तपाईंको हो। यसका साथै आफ्नो बैंक खातासँग जोडिएको सिम कार्ड वा फोनको पहुँच कुनै पनि अपरिचित व्यक्तिलाई नदिनुहोस्।

२. सजिलो पैसाको लोभ त्याग्नुहोस्

कुनै पनि अनलाइन वा सामाजिक सञ्जालको जागिरको अफरमा विश्वास गर्नुअघि कम्पनीको आधिकारिकता (नेपालमा दर्ता भएको, व्यावसायिक वेबसाइट र ठेगाना) बारे राम्ररी बुझ्नुहोस्। यदि कुनै काममा तपाईंले आफ्नो खाता प्रयोग गर्नुपर्ने र त्यसको बदलामा कमिसन पाइने प्रस्ताव गरिन्छ भने, त्यो शतप्रतिशत अवैध कारोबार हो।

३. शङ्का लागेमा तत्काल सम्बन्धित निकायमा जानकारी दिनुहोस्

यदि तपाईंलाई कसैले शङ्कास्पद रूपमा सम्पर्क गर्छ वा तपाईंको खाताबाट असामान्य लेनदेन भएको शङ्का लागेमा तुरुन्तै आफ्नो बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्। त्यसैगरी कुनै पनि अवैध कारोबारको प्रयास वा ठगीको योजनाबारे थाहा पाएमा तत्काल नेपाल प्रहरीको साइबर ब्युरो मा उजुरी गर्नुहोस्।

सानो लोभले लाखौंको जरिवाना र १५ वर्षसम्मको कैद सजाय भोग्नुपर्ने हुन सक्छ। आफ्नो खातालाई अवैध कारोबारको माध्यम बन्न नदिनुहोस्!