नेपालको सेयर बजार र बैंकिङ क्षेत्रका लागि खुसीको खबर!
नेपाल राष्ट्र बैंक (NRB) ले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा गरेको घोषणालाई कार्यान्वयन गर्दै हालै जारी गरेको "संशोधित र परिमार्जित एकीकृत निर्देशन, २०८१" मार्फत् सेयर धितो कर्जा (Share Collateral Loan) को जोखिम भार (Risk Weight) १२५% बाट घटाएर १००% तोकेको छ।
यो निर्णयले वित्तीय क्षेत्रमा ठूलो हलचल ल्याएको छ, विशेषगरी बैंकहरू र सेयर बजारमा। किनकि यस निर्णयले बैंकहरूको पुँजीकोषमा २५ अर्ब रुपैयाँ थपिने र कर्जा दिन सक्ने क्षमता बढ्ने देखिएको छ। तर, यस परिवर्तनले आम लगानीकर्ता, व्यापारी, र सेयर बजारलाई कस्तो फाइदा गर्छ? आउनुहोस्, यसको विस्तृत छलफल गरौं।
सेयर कर्जाको जोखिम भार भनेको बैंकले सेयर धितो राखेर दिइने कर्जामा कति जोखिम छ भनेर मूल्यांकन गर्न प्रयोग हुने मापदण्ड हो। यसबाट बैंकले सेयर कर्जाका लागि कति पूँजी छुट्याउनुपर्छ भन्ने निर्धारण गर्छ। जोखिम भार जति बढी, बैंकको पूँजी बाँधिने वा अड्किने मात्रा पनि बढी हुन्छ, जसको कारण बैंकसँग कर्जा दिन कम पूँजी हुन्छ।
पहिले राष्ट्र बैंकको प्रावधानअनुसार बैंकहरुले ५० लाख रुपैयाँमाथिको सेयर धितो कर्जा प्रवाह गर्दा १२५ प्रतिशत जोखिम भार कायम गर्नुपर्छ। तर हालैको एकीकृत निर्देशन अनुसार यो जोखिम भार १२५% बाट घटाएर १००% भएको छ, जसको फल स्वरूप बैंक सँग अब २५ अर्ब थप कर्जा दिन सक्ने क्षमता हुन्छ।
सोहि निर्देशनमा ५० लाख रुपैयाँ भन्दा कमको सेयर धितो कर्जा प्रवाह गर्दा १००% जोखिम भार कायम गर्नु पर्ने प्रावधानमा भने कुनै परिवर्तन गरिएको छैन।
यसको मतलब ५० लाख रुपैयाँमाथिको सेयर कर्जाको जोखिम भार घट्दा, निम्न प्रकारको असरहरु बैंकमा पर्ने गर्दछ,
१. बैंकले अब सेयर कर्जा दिन कम पुँजी राष्ट्र बैंकमा जम्मा वा आरक्षित गर्नुपर्छ,
२. बैंकको कर्जा दिने क्षमता बढ्छ,
३. सेयर कर्जाको ब्याजदर घट्न सक्छ,
४. बैंकको पूँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio) बढ्छ, जसले बैंकको वित्तीय स्थिति मजबुत बनाउछ।
सेयर कर्जाको जोखिम भार घट्दा बैंकलाई मात्र नाफा होइन, लगानीकर्ता र सेयर धनीहरूलाई पनि फाईदाजनक हुन्छ। अब सेयर कर्जा लिन सहज मात्रै नभई कम ब्याजदरमा कर्जा पाउन पनि सकिन्छ। साथै यसले सेयर बजारमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

(क) सेयर कर्जा पाउन सहज: बैंकले अब थोरै पूँजी छुट्याएर पनि सेयर कर्जा दिन सक्ने भएकाले, उनीहरूले कर्जा प्रक्रिया अझ सरल बनाएर ग्राहकलाई प्रोत्साहित गर्नेछन्।
(ख) ब्याजदर घट्न सक्ने: जोखिम भार घटेपछि बैंकहरूले सेयर कर्जामा कम ब्याजदर लगाउन सक्ने हुँदा ऋणीहरूलाई सहुलियत हुनेछ।
(ग) लाभांश (Dividend) पाउने सम्भावना बढ्ने: बैंकहरूको वित्तिय स्थिति सुधार हुने भएकाले, लाभांश दिन नसक्ने बैंकहरूले पनि अब लाभांश वितरण गर्न सक्नेछन् भने हाल लाभांश प्रदान गरिरहेका बैंकहरुले अझ धेरै लाभांश दिन सक्छन्।
(घ) सेयर बजारमा लगानी गर्न सजिलो: बैंकहरूले धेरै मात्रामा सेयर कर्जा दिन थालेपछि सेयर खरिद गर्ने क्षमता बढ्नेछ, जसले गर्दा बजारमा तरलता र माग दुबै बढ्ने छ।
(ङ) सेयर बजार परिसूचक (इन्डेक्स) बढ्न सक्ने: सेयर कर्जा बढ्दा सेयर खरिदको लागि पुँजी बढ्छ, जसले गर्दा नेप्सेको इन्डेक्समा सकारात्मक सुधार आउन सक्छ।
राष्ट्र बैंकको यो नीतिगत परिवर्तनले बैंकहरू, लगानीकर्ता, र समग्र सेयर बजारमा नयाँ आशा र उत्साह भरिदिएको छ। कर्जा प्रवाह सजिलो हुनु, ब्याजदर घट्ने सम्भावना, र सेयर बजारमा सकारात्मक परिवर्तन आउन सक्ने जस्ता फाइदाहरुले यस निर्देशनलाई एक रणनीतिक अवसरको रूपमा हेर्न सकिन्छ। तर, कर्जा लिने निर्णय जोखिम र क्षमता दुवै मूल्यांकन गरेर मात्र गर्नु पर्छ।
Sign up to discover Saral Banking Sewa