Banner image with the text "Bad credit score can affect your loan application" and the logo of Saral Banking Sewa
19 Jun, 2026

बैंकबाट ऋण लिँदै हुनुहुन्छ? धितो मात्र होइन, अब चाहिन्छ बलियो 'क्रेडिट स्कोर'

पछिल्ला समयमाहरूमा बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकको वित्तीय अनुसासन र व्यवहारलाई मूल्याङ्कन गर्न 'क्रेडिट स्कोर' लाई निकै महत्त्व दिन थालेका छन्। यो तपाईँको वित्तीय चरित्रको एउटा मार्कसिट हो। तपाईँले ऋण पाउनुहुन्छ कि हुन्न, बैंकिङ ब्याजदर कति सस्तो वा महँगो हुन्छ, र वित्तीय बजारमा तपाईँको विश्वसनीयता कस्तो छ भन्ने कुराको निर्धारण यही स्कोरले गर्छ। 

नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ बजेट मार्फत सबै नागरिकका लागि व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली (Personal Credit Scoring System) लागू गर्ने ऐतिहासिक घोषणा गरेपछि यो विषय यतिबेला निकै चर्चामा छ।

आखिर के हो त क्रेडिट स्कोर? यसको गणना कसरी गरिन्छ? नयाँ बजेटले यससम्बन्धी के-के व्यवस्थाहरू ल्याएको छ र आफ्नो क्रेडिट स्कोर कसरी सुधार्न सकिन्छ? यस ब्लग मार्फत यी सबै जिज्ञासाबारे विस्तृत रूपमा बुझ्नेछौ ।

क्रेडिट स्कोर भनेको के हो?

सरल भाषामा क्रेडिट स्कोर भनेको तपाईँले विगतमा लिएको ऋण कति जिम्मेवारीपूर्वक पूरा गर्नुभयो भन्ने आधारमा प्राप्त हुने अंक हो। यो व्यक्तिको ऋण तिर्ने क्षमता र वित्तीय अनुशासन देखाउने डिजिटल सूचक हो।

बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकलाई ऋण वा क्रेडिट कार्ड दिनुअघि जोखिम मूल्याङ्कन गर्न यसको प्रयोग गर्छन्। स्कोर राम्रो हुनुको अर्थ तपाईँ विश्वासिलो ग्राहक हुनु हो। 

नेपालमा कर्जासम्बन्धी सम्पूर्ण विवरण संकलन र व्यवस्थापन गर्ने मुख्य काम कर्जा सूचना केन्द्र (CIB) ले गर्छ। तपाईँले बैंकबाट ऋण लिँदा, क्रेडिट कार्ड प्रयोग गर्दा वा कसैको जमानी (Guarantor) बस्दाका सबै विवरण CIB को केन्द्रीय प्रणालीमा दर्ता हुन्छन्।  

बैंकहरूले ग्राहकको भुक्तानी स्थिति नियमित रूपमा CIB लाई पठाउँछन् र लामो समयसम्म ऋण नतिर्नेलाई CIB ले कालोसूची (Blacklist) मा राख्छ। संक्षिप्तमा, यो प्रणाली तपाईँको वित्तीय ऐना हो, जसलाई हेरेर बैंकहरूले तपाईँ ऋण दिन योग्य हुनुहुन्छ वा हुनुहुन्न भन्ने कुराको यकिन गर्छन्।

क्रेडिट स्कोर कसरी गणना हुन्छ?

क्रेडिट स्कोर व्यक्तिको वित्तीय व्यवहारका विभिन्न सूचकहरूलाई वैज्ञानिक ढंगले विश्लेषण गरेर गणना गरिन्छ। मुख्य रूपमा यसको मूल्यांकन गर्दा तलका ५ वटा कारकहरूलाई ध्यान दिइन्छ: 

क) ऋण भुक्तानी इतिहास (Payment History)

यो सबैभन्दा महत्त्वपूर्ण पाटो हो। यदि तपाइले लोनको किस्ता (EMI) वा क्रेडिट कार्डको बिल समयमै तिर्नुभएको छ भने स्कोर बढ्छ तर ढिलाइ गर्नुभएमा वा किस्ता छुटाउनु भएमा स्कोर घट्छ। 

ख) कुल ऋण तथा दायित्व (Credit Utilization & Debt Burden)

तपाइको आम्दानीको तुलनामा ऋणको मात्रा कति छ भन्ने हेरिन्छ। क्षमताभन्दा बढी ऋण वा क्रेडिट कार्डको लिमिट प्रयोग गर्दा जोखिम बढ्छ र स्कोरमा असर पर्छ। 

ग) क्रेडिटको अवधि (Credit History Length)

तपाईँ कति समयदेखि बैंकिङ कारोबारमा हुनुहुन्छ भन्ने यसले देखाउँछ। लामो समयसम्म सफा र जिम्मेवार वित्तीय इतिहास हुनु सकारात्मक संकेत मानिन्छ। 

घ) नयाँ ऋण आवेदन (New Credit Applications)

तपाइले छोटो समयमा धेरै वटा बैंकमा ऋण वा क्रेडिट कार्डका लागि आवेदन दिँदा नकारात्मक प्रभाव पर्छ। यसले तपाईँ वित्तीय दबाबमा हुनुहुन्छ भन्ने देखाउँछ। 

ङ) ऋणको प्रकार (Credit Mix)

तपाईँले चलाएको ऋणको सन्तुलन यसमा हेरिन्छ। सुरक्षित कर्जा (जस्तै: घर, गाडी कर्जा) र असुरक्षित कर्जा (जस्तै: व्यक्तिगत ऋण, क्रेडिट कार्ड) को राम्रो मिश्रण हुनु सकारात्मक मानिन्छ। 

बजेट २०८३/८४ मा क्रेडिट स्कोर सम्बन्धी के व्यवस्था गरिएको छ? 

नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपालको बैंकिङ र वित्तीय क्षेत्रमा एउटा ठुलो रूपान्तरण ल्याउने कदम चालेको छ। विशेष गरी आम नागरिकको वित्तीय पहुँच बढाउन र ऋण प्रवाहलाई थप पारदर्शी बनाउन बजेटमा केही नवप्रवर्तनात्मक व्यवस्थाहरू गरिएका छन्: 

  • व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणालीको सुरुवात: सरकारले पहिलो पटक देशैभरि एकीकृत व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गर्ने घोषणा गरेको छ। यसले प्रत्येक नागरिकको वित्तीय अनुशासनको डिजिटल अभिलेख राख्ने बाटो खोलेको छ।
  • Peer-to-Peer (P2P) Lending को नियमन: परम्परागत बैंकिङ बाहेक प्रविधिको माध्यमबाट सिधै एक व्यक्तिले अर्को व्यक्तिलाई ऋण दिने 'पीर-टु-पीर लेन्डिङ' प्रणालीलाई कानुनी दायरामा ल्याएर नियमन गर्ने व्यवस्था बजेटमा गरिएको छ।
  • डिजिटल मूल्याङ्कन सहज हुने: यो प्रणाली पूर्ण रूपमा लागू भएपछि व्यक्तिको आम्दानी, ऋण चुक्ता गरेको इतिहास र समग्र वित्तीय व्यवहारका आधारमा कम्प्युटरकृत वा डिजिटल माध्यमबाटै तुरुन्तै वित्तीय साख मूल्याङ्कन गर्न सहज हुनेछ।
  • उधारो असुली कानुन: व्यावसायिक वातावरणलाई थप पारदर्शी र व्यवस्थित बनाउन सरकारले नयाँ उधारो असुली कानुन ल्याउने घोषणा पनि गरेको छ ।

बजेटको यो नयाँ व्यवस्थाले वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग र पारदर्शितालाई बढावा दिने स्पष्ट छ। यदि तपाईँको क्रेडिट स्कोर उत्कृष्ट छ भने भविष्यमा बैंकहरू आफैँ तपाईँलाई खोज्दै आउनेछन्। 

राम्रो क्रेडिट स्कोर किन आवश्यक छ?  

तपाईँको क्रेडिट स्कोर जति बलियो हुन्छ, वित्तीय बजारमा तपाईँको साख त्यति नै उच्च हुन्छ। एउटा राम्रो क्रेडिट स्कोर हुनुका मुख्य फाइदाहरू यस प्रकार छन्:

  • ऋण स्वीकृतिको उच्च सम्भावना: बैंकहरूले राम्रो स्कोर भएका ग्राहकको लोन आवेदन बिनाकुनै हिचकिचाहट तुरुन्तै स्वीकृत (Approve) गर्ने सक्छन।
  • बैंकको विश्वास र साख: यसले तपाईँ एक जिम्मेवार र इमानदार ऋणी हो भन्ने प्रमाणित गर्छ, जसले गर्दा बैंकहरूसँगको व्यावसायिक सम्बन्ध बलियो बन्छ।
  • सस्तो ब्याजदर र सहज सर्त: धेरैजसो देशहरूमा र नेपालमा पनि आगामी दिनमा उत्कृष्ट क्रेडिट स्कोर भएका ग्राहकले अरूको तुलनामा सस्तो ब्याजदर (Lower Interest Rates) र खुकुलो सर्तमा ऋण पाउन सक्नेछन्।
  • वित्तीय प्रतिष्ठामा वृद्धि: यसले समाज र वित्तीय क्षेत्रमा तपाईँको व्यक्तिगत तथा व्यावसायिक प्रतिष्ठा (Financial Reputation) बढाउँछ।
  • डिजिटल वित्तीय सेवामा सहज पहुँच: भविष्यमा डिजिटल लेन्डिङ र अनलाइन वित्तीय सेवाहरू पूर्ण रूपमा लागू हुँदा, तपाईँले घरमै बसीबसी मोबाइल एपबाटै तुरुन्तै (Instant Loan) कर्जा सुविधा पाउन सक्नुहुनेछ।

राम्रो क्रेडिट स्कोर तपाईँको वित्तीय स्वतन्त्रता र सुनौलो भविष्यको साँचो हो।

क्रेडिट स्कोर कसरी सुधार गर्ने? 

यदि तपाईँको क्रेडिट स्कोर कमजोर छ वा तपाईँ यसलाई अझै बलियो बनाउन चाहनुहुन्छ भने आजैदेखि यी ६ वटा बानीहरू अपनाउनुहोस्: 

  • किस्ता र ऋण समयमै तिर्नुहोस्: यो सबैभन्दा महत्त्वपूर्ण कदम हो। आफ्नो लोनको मासिक किस्ता (EMI) र क्रेडिट कार्डको बिल सधैँ तोकिएको मितिभित्रै भुक्तानी गर्नुहोस्।
  • आवश्यकताभन्दा बढी ऋण नलिनुहोस्: आफ्नो आम्दानीको अनुपातमा ऋणको बोझ सधैँ नियन्त्रणमा राख्नुहोस्। कर्जालाई भार होइन, आवश्यकता अनुसार मात्र प्रयोग गर्नुहोस्।
  • बैंकिङ दायित्व पूरा गर्नुहोस्: खातामा पैसा नभई चेक काट्ने (चेक बाउन्स) वा बिलहरू ढिला तिरेर विलम्ब शुल्क (Late Fee) तिर्ने जस्ता गल्ती नगर्नुहोस्। यसले वित्तीय अनुशासनहीनता देखाउँछ।
  • एकैपटक धेरै ऋण आवेदन नगर्नुहोस्: छोटो समयमा धेरै वटा बैंकमा पुगेर ऋण वा क्रेडिट कार्ड माग्ने काम बन्द गर्नुहोस्। बारम्बार ऋण खोज्दा तपाईँ वित्तीय संकटमा हुनुहुन्छ भन्ने नकारात्मक सन्देश जान्छ।
  • क्रेडिट रेकर्ड नियमित जाँच गर्नुहोस्: कर्जा सूचना केन्द्र (CIB) बाट आफ्नो क्रेडिट रिपोर्ट बेलाबेलामा चेक गर्नुहोस्। यदि रिपोर्टमा कुनै गलत विवरण वा प्राविधिक त्रुटि देखिएमा तुरुन्तै सच्याउन पहल गर्नुहोस्।
  • वित्तीय अनुशासन कायम राख्नुहोस्: आफ्नो आम्दानी र खर्चको सन्तुलन मिलाउनुहोस्। एउटा स्पष्ट बजेट बनाएर चल्दा वित्तीय अनुशासन आफैँ कायम हुन्छ र क्रेडिट स्कोर स्वतः बलियो बन्दै जान्छ।

निष्कर्ष

क्रेडिट स्कोर आधुनिक बैंकिङ प्रणालीको एउटा बलियो र अपरिहार्य आधार बन्दै गएको छ। आर्थिक वर्ष २०८३/८४ बजेट मार्फत सरकारले घोषणा गरेको व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली नेपालको वित्तीय क्षेत्रलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउने एक ऐतिहासिक सुधारको कदम हो।

आफ्नो ऋणको किस्ता समयमै भुक्तानी गरेर, जिम्मेवार वित्तीय व्यवहार देखाएर र अनुशासित बैंकिङ अभ्यास अपनाएर मात्र एउटा उत्कृष्ट क्रेडिट स्कोर निर्माण गर्न सकिन्छ। याद राख्नुहोस्, आजको वित्तीय अनुशासन नै भोलिको आर्थिक समृद्धिको साँचो हो र एउटा बलियो क्रेडिट स्कोरले तपाईँका लागि भविष्यका अनगिन्ती वित्तीय अवसरहरूको ढोका खोल्नेछ।